चैत २१ गते फाल्गुनन्दमा दोस्रो साहित्यिक महोत्सव, दुई स्रष्टालाई सम्मान गरिने

  युद्धबहादुर बोहोरा
490 Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिकामा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको साहित्य महोत्सवले निरन्तरता पाएको छ। यसैक्रममा ‘दोस्रो फाल्गुनन्द साहित्य महोत्सव–२०८२’ आगामी चैत २१ गते शनिबार १ नम्बर वडाको नवमीडाँडामा रहेको तिजोकस्थित बहुसाँस्कृतिक पार्कमा आयोजना हुने भएको छ।

गाउँपालिकाको सहयोग र फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने महोत्सवबारे जानकारी दिँदै फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानका कुलपति मनकुमार लावती (समदर्शी काईला) ले तयारी तीव्र पारिएको बताए। उनका अनुसार महोत्सवमा विविध सांस्कृतिक झाँकी प्रदर्शन, गाउँपालिकासम्बन्धी कार्यपत्र प्रस्तुति, कविता, गजल तथा अन्य साहित्यिक रचनाहरू वाचन गरिनेछन्। स्थानीय भाषा, कला र संस्कृतिको संरक्षणसँगै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ।

यस वर्षको महोत्सवको मुख्य आकर्षणका रूपमा दुई जना विशिष्ट स्रष्टालाई सम्मान गरिने भएको छ। आयोजकका अनुसार ‘फाल्गुनन्द प्रज्ञा साहित्य पुरस्कार’ कवि तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बालाई प्रदान गरिनेछ भने ‘फाल्गुनन्द मातृभाषा पुरस्कार’ कवि तथा राजनीतिज्ञ वीर नेम्बाङ लाई प्रदान गरिने कार्यक्रम तय गरिएको छ। भाषा, साहित्य र पहिचानको क्षेत्रमा उनीहरूले पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गर्न लागिएको जनाइएको छ।

महोत्सवअन्तर्गत पुस्तक विमोचन कार्यक्रम पनि समावेश गरिएको छ। यस क्रममा कवि गजेन्द्र सोजे राईको कविता संग्रह ‘नलेखिएको तमसुक’ सार्वजनिक गरिनेछ। त्यस्तै, डा. मघुराज केरुङले ‘फाल्गुनन्द गाउँपालिकाभित्रका साहित्यकारहरू र तिनका योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने साहित्यकार प्रेम ओझाले गाउँपालिकाभित्र रहेका प्रमुख पर्यटकीय स्थलहरूबारे प्रस्तुति दिने कार्यक्रम रहेको छ।कार्यक्रममा गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बे प्रमुख अतिथि र उपाध्यक्ष ठाकुरसिं नेम्बाङ विशेष अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।

फाल्गुनन्द गाउँपालिकामा साहित्य महोत्सवको औपचारिक सुरुवात भने गत वर्ष २०८१ चैत २५ र २६ गते गरिएको थियो। राँके बजारमा सम्पन्न पहिलो संस्करणको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति बैरागी काइँलाले गरेका थिए। उद्घाटन सत्रमा उनलाई नागरिक अभिनन्दनसमेत गरिएको थियो भने सांस्कृतिक झाँकीसहित राँके बजार परिक्रमा गराइएको थियो।

दुई दिनसम्म सञ्चालन भएको पहिलो महोत्सवमा साहित्य, भाषा, संस्कृति, पर्यटन तथा समसामयिक विषयमा बहस र कार्यपत्र प्रस्तुति गरिएको थियो। ‘कविता कस्तो हुनुपर्छ’ विषयक प्यानल छलफलमा प्रकाश थाम्सुहाङ, मुनराज शेर्मा र श्रवण मुकारुङ सहभागी भएका थिए भने सहजीकरण सुन्दर कुरुप ले गरेका थिए। यस्तै, पर्यटन, पर्यावरण, मातृभाषा शिक्षा र समृद्धिजस्ता विषयमा विभिन्न विज्ञ तथा जनप्रतिनिधिहरूले धारणा राखेका थिए। महोत्सवको दोस्रो दिन याक्थुङ साहित्यमा पहिचान, राजनीति र साहित्य, हरियो समाजवादजस्ता विषयमा बहस गरिएको थियो भने विभिन्न कृतिहरूको विमोचनसमेत गरिएको थियो। कार्यक्रममा वीर नेम्बाङ लगायत विभिन्न कवि तथा स्रष्टाहरूले कविता वाचन गरेका थिए।

पहिलो संस्करणबाट प्राप्त अनुभवलाई आधार मानेर दोस्रो संस्करणलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरिएको आयोजकले जनाएको छ। तिजोकमा आयोजना हुन लागेको यस वर्षको महोत्सवले स्थानीय पहिचानलाई थप मजबुत बनाउनुका साथै साहित्यिक गतिविधिलाई संस्थागत रूप दिने अपेक्षा गरिएको छ। प्रतिष्ठानले सम्पूर्ण साहित्यानुरागी, संस्कृतिप्रेमी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई महोत्सव सफल बनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार