
इलाम : इलामको रोङ गाउँपालिका–३ कुट्टिडाँडामा रहेको सानो पाथीभरा मन्दिरमा दाताले चढाएको सुन–चाँदी सरोकारवालाको रोहवरमा पगालेर एक ढिक्का बनाइएको छ। मन्दिरमा संकलित भेटीलाई पारदर्शी रूपमा व्यवस्थापन गर्ने उद्देश्यले गाउँपालिकाले उक्त प्रक्रिया अघि बढाएको हो।
रोङ गाउँपालिकाले “पाथीभरा मन्दिर संरक्षण तथा व्यवस्थापन ऐन–२०७९” जारी गर्दै मन्दिरलाई आफ्नो स्वामित्वमा ल्याएपछि पाथीभरा विकास समिति गठन गरेको थियो। समितिले जिम्मेवारी सम्हालेपछि मन्दिरमा दाताबाट प्राप्त सुन–चाँदीको अभिलेख राख्दै सुरक्षित व्यवस्थापन गर्ने कार्य सुरु गरेको हो।
गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोका अनुसार मन्दिरमा जम्मा भएको सुन–चाँदी पारदर्शी बनाउन गाउँपालिकाका जनप्रतिनिधि, नापतौल विभाग, सुन–चाँदी व्यवसायी संघ, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, प्रहरी, पाथीभरा विकास समिति तथा सञ्चारकर्मीको उपस्थितिमा पगालेर एक ढिक्का बनाइएको हो।
“दाताले चढाएको भेटीलाई व्यवस्थित र पारदर्शी रूपमा राख्न यस्तो प्रक्रिया अपनाइएको हो,” अध्यक्ष स्याङबोले भने, “अहिलेलाई सुन–चाँदी गाउँपालिकाको आम्दानी खातामा राखिन्छ, पछि कार्यपालिका बैठकले यसको उपयोगबारे निर्णय गर्नेछ।”
मन्दिरमा २०७९ साल फागुनयता नगद ४ करोड २३ लाख ६८ हजार ८ सय ५४ रुपैयाँ, सुन १३.४५ तोला र चाँदी ६०९.५७ तोला जम्मा भएको गाउँपालिकाले जनाएको छ।
पाथीभरा विकास समितिकी कोषाध्यक्ष कृष्णकुमारी भुजेलका अनुसार समितिलाई जिम्मेवारी दिएपछि मन्दिरमा दैनिक रूपमा नगदको हिसाब राख्ने व्यवस्था गरिएको छ। सुन तथा चाँदी भने दाताले चढाएको दिनकै विवरण संकलन गरी दैनिक रूपमा पोको पारेर मिति उल्लेख गर्दै सिल गरेर सुरक्षित राख्ने गरिएको थियो।
यसरी संकलित सुन–चाँदीलाई सबै सरोकारवालाको उपस्थितिमा रुजु गरी पगालेर एक ढिक्का बनाइएको समितिले जनाएको छ। गाउँपालिकाले अब उक्त सुन–चाँदीको उपयोगबारे कार्यपालिका बैठकबाट निर्णय गर्ने तयारी गरेको छ।



















































