सिटी मार्टको लिफ्ट वर्षौंदेखि बन्द -इलाम नगरपालिकाको उदासीनताले सेवाग्राही मारमा !

इलाम : इलाम सदरमुकाममा रहेको सिटी मार्टको लिफ्ट वर्षौंदेखि बन्द अवस्थामा रहँदा सेवाग्राही, व्यवसायी तथा सर्वसाधारण नागरिकले सास्ती भोगिरहेका छन । तर व्यापारिक भवनको संरक्षण र संचालनको जिम्मेवारी बोकेको इलाम नगरपालिका भने यस विषयमा पूर्ण रूपमा उदासीन देखिएको छ ।

जिल्लाको प्रमुख बजारमा सञ्चालनमा रहेको सिटी मार्टमा जडान गरिएको लिफ्ट लामो समयदेखि बन्द छ । दैनिक सयौं मानिस आउने यस व्यापारिक केन्द्रमा वृद्धवृद्धा, अशक्त व्यक्ति तथा बालबालिकासहितका सेवाग्राहीलाई माथिल्लो तलासम्म पुग्न निकै कठिनाइ भइरहेको छ । तर यति गम्भीर समस्या हुँदासमेत नगरपालिकाले चासो नदेखाउनु स्थानीय सहित त्यहाँ ब्याबसाय संचालन गरिरहेका संचालकहरुका लागि आश्चर्य र आक्रोशको विषय बनेको छ ।

स्थानीयहरूका अनुसार लिफ्ट बिग्रिएको वर्षौं बितिसक्दा पनि मर्मतका लागि कुनै ठोस पहल भएको छैन । व्यापारिक भवनमा आवश्यक सुविधा सञ्चालनमा छ कि छैन भन्ने अनुगमन गर्ने दायित्व नगरपालिकाको भए पनि यस विषयमा नगरपालिकाले जिम्मेवारीबाट पन्छिएको आरोप लागिरहेको छ ।

सिटी मार्टमा रहेका व्यवसायीहरूका अनुसार लिफ्ट बन्द हुँदा माथिल्लो तलामा रहेका पसलहरूमा ग्राहक पुग्न कठिन भएको छ । धेरै ग्राहकहरू सिढी चढ्न झन्झट मान्ने भएकाले माथिल्लो तलासम्म जानै छोडेका छन्, जसका कारण व्यापारमा प्रत्यक्ष असर परेको व्यवसायीहरूको गुनासो छ ।

एक व्यापारीले नाम नखुलाउने सर्तमा भने ,“सिटी मार्ट व्यवस्थापनको मात्रै होइन, इलाम नगरपालिकाको उदासीनता हरेक क्षेत्रमा छ । शहरभित्र सञ्चालन हुने व्यापारिक भवनहरूको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने नगरपालिकाले आँखा चिम्लिँदा यस्ता समस्या वर्षौंदेखि थाँती बस्ने गरेको उनको भनाइ छ । ”

“नगरपालिकाले चाहेमा यस्ता समस्या एक दिनमै समाधान गर्न सक्छ,” सिटि मार्ट सञ्चालन समिति अध्यक्ष प्रकाश चापागाईंले आक्रोश पोख्दै भने, “तर यहाँ त नगरपालिकाले चासो नै नदेखाएको जस्तो देखिन्छ ।” चापागाइले सिटी मार्टको लिफ्ट तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन पटकपटक आग्रह गरेपनि कार्यान्यन नभएको बताए । उनले नगर प्रमुख केदार थापालाई भन्दा भन्दा आफु थकित भएको समेत गुनासो पोखे ।

यता यस बिषयमा बुझन नगर प्रमुख केदार थापालाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन । सिटि मार्टमा अहिले दैनिक रूपमा सयौं सेवाग्राही, विद्यार्थी, व्यापारी, ग्राहक तथा बैंक र कार्यालयका कर्मचारी आवत–जावत गर्छन् । तर लिफ्ट सञ्चालनमा नआएपछि बुढाबुढी, अशक्त, महिला तथा बालबालिकालाई माथिल्लो तलासम्म पुग्न कठिनाइ भएको छ । हाल सिटि मार्टभित्र एक होटल, नेपाल एयरलाइन्सको इलाम स्थित कार्यालय, दुईवटा बैंक शाखा, इन्स्योरेन्सको कार्यालय, कम्प्युटर तथा भाषा तालिम केन्द्रसहित दर्जनौं किराना देखि कपडा सम्मका पसहहरु सञ्चालनमा छन्। यी सेवाहरुले स्थानीय जनतालाई सुविधा दिने सम्भावना बोकेका छन्। तर जब भौतिक पूर्वाधारमै यस्तो चरम बेवास्ता देखिन्छ, तब यी सेवाहरू पनि प्रभावित देखिएका छन ।

तर यो सिटि मार्टको समस्या नयाँ भने होइन । पटकपटक यस बिषयमा आवाज उठ्दैै आएको भए पनि नगरपालिकाले अहिलेसम्म कुनै ठोस कदम चालेको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार