
इलाम : संविधानसभा सदस्य निर्वाचन इलाम क्षेत्र नं. २ मा १२ वर्षअघि बुवासँग झिनो मतान्तरमा पराजित भएका उम्मेदवार यस पटक छोरासँग भारी मतान्तरमा पराजित भएका छन् । २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्य नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार स्वर्गीय सुवासचन्द्र नेम्बाङसँग पराजित भएका थिए । यस पटकको निर्वाचनमा आचार्य सुवासचन्द्रकै कान्छा छोरा सुहाङ नेम्बाङसँग समेत पराजित भए ।
संविभानसभा सदस्य निर्वाचनमा भेषराज सुवासचन्द्रसँग दुई हजार १०२ को मतान्तरले पराजित भएका थिए । विजयी सुवासचन्द्रले १४ हजार ९३० मत पाउँदा भेषराजले १२ हजार ८२८ मत पाएका थिए । यस पटकको निर्वाचनमा सुहाङसँग सात हजार ७७६ मतको फराकिलो मतान्तरमा पराजित भए । सुहाङले २२ हजार ४२६ मत पाएर विजयी भए भने भेषराजले १४ हजार ६५० मत पाएर पराजय ब्यहोरे । आचार्यले बुवासँगको हारको बदला छोराबाट लिने मौका समेत यसपटक नराम्री गुमाए ।
सुहाङ यसअघि २०८१ को उपनिर्वाचनमा समेत आफ्ना बुवा सुवासचन्द्रकै प्रतिष्पर्धी डम्बरबहादुर खड्कालाई पराजित गर्दै संसदीय राजनीतिमा प्रवेश गरेका थिए । उपनिर्वाचनमा सुहाङ पाँच हजार ८३० मतको फराकिलो मतान्तरमा विजयी भए । सुहाङले २७ हजार ७७२ मत पाएर विजयी हुदाँ डम्बरबहादुरले २१ हजार ९४२ मत मात्र पाएका थिए ।
कांग्रेसका उम्मेदवार डम्बरबहादुर २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत एमाले उम्मेदवार सुहाङकै बुवा स्वर्गीय सुवासचन्द्र नेम्बाङसँग पराजित भएका थिए । सो निर्वाचनमा डम्बरबहादुर सुवासचन्द्रसँग ११४ को झिनो मतान्तरले पराजित भएका थिए । विजयी सुवासचन्द्रले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाएका थिए ।
संयोगले सुहाङले दुवै निर्वाचनमा आफ्नै बुवाको प्रतिष्पर्धीसँग प्रतिष्पर्धा गर्ने अवसर पाए र दुवै निर्वाचनमा सानदार जित निकाल्न सफल बने ।
इलाम क्षेत्र नं. २ मा छ वटा पालिकाका ४२ वटा वडाहरु पर्दछन् । चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिको सबै, माई नगरपालिकाको ६, ७ र ८ वडा, देउमाई नगपालिकाको सबै र इलाम नगरपालिकाको सबै (१० बाहेक) वडाहरु पर्दछन् ।
यही फागुन २१ गते भएको निर्वाचन क्षेत्रमा कुल एक लाख १९ हजार ४८९ मतदातामध्ये ६७ हजार ६६४ मत खसेकोमा तीन हजार ८८३ मत बदर भएको थियो । यहाँ विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ जना प्रतिष्पर्धामा थिए ।



















































