इलाम-२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित

इलाम : प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नं. २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)  का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई सात हजार ७७६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

नेम्बाङले २२ हजार ४२६ मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिए । गजुरेलका अनुसार नेम्बाङका निकटतम प्रतिष्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका छन् ।

चुनावी प्रतिष्पर्धामा रहेका श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४०० मत प्राप्त गरी तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादु राईले सात हजार ८१४ मत प्राप्त गरी चौथो भएका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले एक हजार १७२ मत पाउँदा बाँकी सबै उम्मेदवारले हजार मत कटाएनन् ।

प्रतिनिधि सभा सदस्यमा नेम्बाङको यो दोस्रो विजय हो । यसअघि वि.स. २०८१ बैसाख १५ गते भएको उपनिर्वाचनमा नेम्बाङले यही क्षेत्रबाट कांग्रेसकै उम्मेदवार डम्बरबहादुर खड्कालाई पाँच हजार ८२० मतान्तरमा पराजित गरेका थिए । नेम्बाङले २७ हजार ७७२ मत प्राप्त गरी निर्वाचित हुँदा खड्काले खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए ।

यता आचार्यका लागि भने यो दोस्रो पटकको पराजय हो । यसअघि २०७० को संविधान सभा निर्वाचनमा समेत आचार्य सुहाङकै बुवा स्वगीर्य सुवासचन्द्र नेम्बाङसँग दुई हजार १०२ मतले पराजित भएका थिए ।

यही फागुन २१ गते भएको निर्वाचन क्षेत्रमा कुल एक लाख १९ हजार ४८९ मतदातामध्ये ६७ हजार ६६४ मत खसेकोमा तीन हजार ८८३ मत बदर भएको थियो । यहाँ विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ जना प्रतिष्पर्धामा थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार