पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ नागीमा आगलागीबाट पीडित भएका भिम मगरलाई सुविसु इन्टरनेट तथा बाराहिनेटले आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले पीडित मगरलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।
गत माघ १३ गते बिहान साढे ११ बजे विद्युत सर्ट भई आगलागी हुँदा मगरको दुईतले काठे घर (टिनको छानो सहित) तथा तीनतले काठे घर (टिनको छानो र सिमेन्टका पिलरसहित) पूर्णरूपमा जलेर नष्ट भएको थियो । आगलागीबाट घरभित्र राखिएको करिब तीन तोला आधा सुन, ३० तोला चाँदी, पसलमा बिक्रीका लागि राखिएको करिब तीन लाख बराबरको घिउ, चार लाख बराबरको छुर्पी, पाँच लाख बराबरको किराना सामग्री, एक लाख पचास हजार बराबरको भाँडाकुँडा, एक लाख बराबरको लत्ताकपडा, साठी हजार बराबरको काठ काट्ने मेसिन, अन्नपात (१९ मुरी मकै, ८ मुरी कोदो), ३०० केजी आलुको बिउ तथा नगद तीन लाख गरी करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको पीडित मगरले बताएका छन् ।
पीडित मगर दूध डेरी उद्योग सञ्चालन गर्नुका साथै व्यापारीसमेत रहेको जनाइएको छ । लामो समयदेखि सुविसु इन्टरनेटका ग्राहक तथा शुभचिन्तक रहेका मगरप्रति सहानुभूति व्यक्त गर्दै सुविसु इन्टरनेट तथा बाराहिनेट शाखा कार्यालय घुर्बिसे पञ्चमी, इलाम र शाखा कार्यालय रविका प्रतिनिधिहरूले गत माघ १७ गते शनिबार पीडितको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
यस अवसरमा सुविसु तथा बाराहिनेट शाखा कार्यालय घुर्बिसे पञ्चमी, इलामका प्रमुख सन्तोष नेम्बाङले विगतका दिनहरूमा पनि विभिन्न घटनाबाट पीडित आफ्ना ग्राहक तथा शुभेच्छुकहरूलाई निःशुल्क इन्टरनेट सेवा तथा आर्थिक सहयोग गर्दै आएको जानकारी दिए ।

























































