इलाममा निर्वाचन प्रहरीलाई तालिम सुरु (भिडियोसहित)

  राम योङहाङ
35 Shares

इलाम : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटाइने निर्वाचन प्रहरीलाई इलाममा आइतबारदेखि तालिम दिन सुरु गरिएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउने लक्ष्यका साथ यहाँ खटाइने एक सय ७९ सशस्त्र तर्फका र एक हजार एक हजार सात सय ३४ निर्वाचन प्रहरीलाई नियुक्तिपत्र दिएर तालिम सुरु गरिएको हो ।

इलाम सदरमुकामस्थि ठूलो टुँडीखेलमा आयोजित एक विशेष समारोहमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुलदिप चन्दले तालिम उद्घाटन गरे । तालिममा निर्वाचन सुरक्षा, प्रहरीले गर्नुपर्ने काम, तालिम अवधि, सेवासुविधालगायतका विषयमा जानकारी गराईने प्रहरी प्रमुख चन्दले बताए । तालिम पश्चात उनीहश्रलाई कार्यक्षेत्रमा परिचालन गरिने उनले बताए ।

प्रहरी प्रमुख चन्दका अनुसार निर्वाचन प्रहरीको सहजताका लागि टुँडीखेलसँगै इलाका प्रहरी कार्यालय मङ्गलबारे र पशुपतिनगर एवम् प्रहरी चौकी फिक्कल, दानाबारी र पेल्टीमारीमा तालिम केन्द्रहरु तोकिएका छन् । तालिम माघ २७ गतेसम्म सञ्चालन हुने उनले बताए ।

‘प्रशिक्षार्थी निर्वाचन प्रहरीको सहजताका लागि सदरमुकामसहित जिल्लाका विभिन्न छ स्थानमा तालिम केन्द्रहरु तोकिएका छन्,’ प्रहरी प्रमुख चन्दले भने, ‘आजदेखि १० दिन तालिम दिन्छौं, त्यसपछि उनीहरुलाई जिल्लाका विभिन्न मतदान स्थल र केन्द्रहरुमा सुरक्षाका लागि परिचान गरिनेछ ।’

इलाममा सुरुको सूचनामा दरखास्त कम परेपछि एक पटक म्याद थप गरेर निर्वाचन प्रहरीको छनौट गरिएको थियो । निर्वाचन प्रहरीमा भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबालबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघिका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रुपमा सन्तोषजनक काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई प्राथिमकता दिएर छनोट गरेको थियो ।

निर्वाचन प्रहरीको कार्षअवधि ४० दिन तोकिएको छ । निर्वाचन प्रहरीले नेपाल प्रहरीको जवानले पाउने सरह ४० दिनको सुविधा, खाद्यान्न र पोसाकबापतको रकम, खाजा खर्चलगायत सुविधा पाउनेछन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलामका दुई क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २७ जना उम्मेद्वार चुनावी मैदानमा छन् । क्षेत्र नं. १ मा १३ दल र क्षेत्र नं. २ मा एक स्वतन्त्र र १३ दलका उम्मेद्वार चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएको छ ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार