एमाले ओखलढुंगामा अर्को विद्रोह, जिल्ला कमिटी नै नेकपामा समाहित

  नयाँ बुलन्द
91 Shares

ओखलढुंगा : उम्मेदवार चयनप्रति केन्द्रसँग असन्तुष्ट बनेको नेकपा (एमाले) ओखलढुंगा जिल्ला कमिटी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटको विषयलाई लिएर देखिएको असन्तुष्टिले जिल्लास्तरमै ठूलो राजनीतिक परिवर्तन भएको हो।

एमाले कोशी प्रदेशका पूर्वमन्त्री आमिरबाबु गुरुङ यसअघि नै एमाले परित्याग गरिसकेका थिए। कुनै सोही जिल्लामा नेकपाबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन्।

शुक्रबारबाट एमाले जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्कासहितको जिल्ला कमिटी नै नेकपामा समाहित भएको जानकारी गुरुङले दिएका छन्। पार्टीभित्र अन्याय र अत्याचार बढेकाले विचार र सिद्धान्त मिल्ने नेकपामा आफूहरू गएको बताएका छन्। नयाँ पार्टीभित्र कुनै अन्याय नहुने र जिल्ला इन्चार्जको समन्वयमा सबै मिलेर अघि बढ्ने विश्वाससमेत उनले व्यक्त गरे।

नेकपाले गुरुङलाई ओखलढुंगाबाट उम्मेदवार बनाउने निर्णय गरेसँगै यसअघि घोषणा गरिएका उम्मेदवार फिर्ता गरिएको छ। काठमाडौंको एक पार्टी प्यालेसमा शुक्रबार आयोजित कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपालसहित नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा एमाले ओखलढुंगा जिल्ला कमिटीका पदाधिकारी तथा नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन्। जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमल न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजीव कटुवालसहितको टोली नेकपामा समाहित भएको हो।

एमालेले प्रतिनिधिसभाको टिकट आमिरबाबु गुरुङलाई नदिई केन्द्रीय सदस्य अस्मिता थापालाई उम्मेदवार बनाएपछि जिल्लामा असन्तुष्टि चुलिएको थियो। त्यसपछि गुरुङ नेकपामा गएर उम्मेदवार बनेसँगै उनी निकट जिल्ला कमिटीका पदाधिकारीहरू पनि एकपछि अर्को गर्दै नेकपामा प्रवेश गरेका हुन्।

कार्यक्रममा विभिन्न तहका कमिटीका करिब ३८ जना सदस्य नेकपामा प्रवेश गरेको जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार