कक्फेवा तङ्नामका अवसरमा कुम्मायकमा खेलकुद र साँस्कृतिक कार्यक्रम सम्पन्न

  बिबेक लाओती
294 Shares

पाँचथरः कक्फेवा तङ्नाम ५०८६ को अवसरमा कुम्मायक २, भञ्ज्याङस्थित माङजाबुङमा आयोजित वडा स्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

सुम्हालुङ चोत्लुङ क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा पुरुष भलिबल, च्याबुङ पक्लुङ छेलो, सांस्कृतिक नृत्य तथा गायन प्रतियोगितासहित विविध सांस्कृतिक गतिविधिहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्थानीय कलाकार, खेलाडी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो भने दर्शकको उपस्थिति पनि उल्लेखनीय रहेको आयोजकले जनाएको छ।

गायन प्रतियोगितामा फिदिमका सबिन मगर प्रथम तथा कुम्मायक २, माङजाबुङका मौसम कार्की दोस्रो भएका थिए। नृत्य प्रतियोगितामा याक्युङहाङ डान्स सेन्टर प्रथम तथा फुङमा र साथीहरू (कुम्मायक २) दोस्रो स्थानमा रहे। त्यसैगरी, च्याबुङ पक्लुङ छेलो प्रतियोगितामा डिगम सेर्मा प्रथम, जापान कुरूम्बाङ दोस्रो र कविन निरौला तेस्रो भएका थिए। पुरुष भलिबल प्रतियोगितामा मिक्लाजुङ ३, आरूबोटेले उपाधि जित्दा फाल्गुनन्द ५ उपविजेतामा सीमित भयो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पाँचथरका प्रतिनिधि सभा सदस्य उम्मेदवार हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले कार्यक्रममा सम्बोधन गर्दै खेलकुद तथा सांस्कृतिक कार्यक्रमले युवालाई अनुशासित, सिर्जनशील र सकारात्मक दिशातर्फ उन्मुख गराउने बताए। उहाँले स्थानीय स्तरमै प्रतिभा पहिचान र प्रोत्साहन गर्न सके राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए।

खेल संयोजक दिवश शेर्माले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए। सुम्हालुङ चोत्लुङ क्लबका अध्यक्ष बिबि शेर्मा (भवानी) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेता अमरसिंह थापा , दिनेश लावती लगायतले शुबनकामना दिदै यस्ता कार्यक्रमले स्थानीय संस्कृति संरक्षण, युवा प्रतिभा उजागर तथा सामाजिक एकता सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा विजेता तथा सहभागीहरूलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। विशेष अतिथि वडाध्यक्ष बालकृष्ण शेर्माले पुरस्कार वितरण गर्दै स्थानीय कला, संस्कृति र खेलकुदको जगेर्नाका लागि यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा वडा कार्यालयबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार