कांग्रेसमा भुइँविद्रोह, शेरबहादुरको सत्तापलट !

  नयाँ बुलन्द
364 Shares

काठमाडौं  :चार वर्षअघि नेपाली कांग्रेसको सभापतिमा दोस्रो पटक निर्वाचित हुँदा शेरबहादुर देउवाले २ हजार ७ सय ३३ मत प्राप्त गरेका थिए । कुल महाधिवेशन प्रतिनिधिमध्ये ६० प्रतिशतभन्दा बढीको समर्थन पाउँदा देउवा नेतृत्वको प्यानलका ८० प्रतिशतभन्दा बढी नेता केन्द्रीय समितिमा निर्वाचित भएका थिए ।

चार वर्षपछि देउवाको अवरोधका बाबजुद सुरु भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा देउवाको राजनीतिक ‘सत्ता पलट’ भएको छ । नेतृत्व र नीति परिवर्तनको मागसहित विशेष महाधिवेशनमा उनलाई मत दिएर जिताउँदाका भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित उपस्थिति जनाएका छन् । जुन संख्या बढ्दो क्रममा छ ।

सभापतिमा दोस्रो पटक निर्वाचित भएको चार वर्षपछि देउवासँग न संख्या छ, न सन्देश । जेनजी विद्रोहको भाव र पार्टीभित्र रूपान्तरणका लागि भएका प्रयत्नको पदचाप बुझ्न नसक्दा उनी नेतृत्वको पार्टीसत्ता भत्किएको छ । जुन महाधिवेशन प्रतिनिधिहरूले अत्यधिक मत दिएर देउवालाई सभापति बनाएका थिए, तिनै महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनमा उपस्थित भएर ‘मत फिर्ता’ को उद्घोष गरेका छन् । केन्द्रीय समितिमा रहेको देउवाको बहुमत पनि अब भत्किएको छ । विशेष महाधिवेशनको मञ्चले देउवाको बहुमत ‘सनाखत’ गर्नुपर्ने अवस्थामा पुर्‍याइदिएको छ । अब देउवा प्राविधिक कारणले मात्रै कांग्रेसको सभापति छन् ।

भुइँविद्रोहले देखाएको बाटो

नेकपा एमालेसँग सत्ता सहकार्यमा पालो पर्खिरहेका थिए देउवा । भदौ २३ मा सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनको ‘घनत्व’ देउवाको राजनीतिक अनुभवले पनि ठम्याउन सकेन । अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने कांग्रेस सामाजिक सञ्जाल बन्द गरेर रमाइरहेको थिए । पार्टीभित्र नियमित महाधिवेशन, विधिसम्मत व्यवहारको अपेक्षा गर्नेहरू देउवा नेतृत्वको संस्थापनबाट निरन्तर उपेक्षित थिए । आफ्नो अनुकूलतमा सत्ता, शक्ति र नेतृत्वको प्रयोग, उपयोग र दुरुपयोग गरिरहेका देउवा राजनीतिको उत्तरार्धमा ‘पिसफुल एक्जिट’ बाट पनि पर पुग्ने सम्भावना बढेको छ ।

भदौ २४ लगत्तै कार्यकर्ताको कुरा सुनेको भए । पार्टीभित्र उठेको रूपान्तरणको आवाज सुनेको भए । आफ्नो व्यक्तिगत स्वार्थ र आफूविरुद्धको प्रहार बिर्सिएर लोकतन्त्रको भविष्यलाई केन्द्रमा राखेको भए देउवा यति धेरै अनुदार हुने थिएनन् । उपसभापतिलाई कार्यवाहक दिएर आफ्ना अन्य अभीष्ट पर्दा पछाडिबाट पूरा गर्ने देउवाको रणनीति कांग्रेसजनले बुझिसकेका छन् ।

भृकुटीमण्डपको विशेष महाधिवेशनले त्यसको संख्या र सन्देश दुवै प्रष्ट पारेको छ । कांग्रेसको विधानले क्रियाशील सदस्यको तागतलाई स्वीकार गर्छ । पार्टीको हरेक तहको नेतृत्व चयनमा सबैभन्दा तल्लो तहमा उभिएको क्रियाशील सदस्यको भूमिका निर्णायक रहन्छ । तर नेताले कहिल्यै क्रियाशील सदस्यको मान राखेनन् । त्यसको भर्पाई विशेष महाधिवेशनले लिएको छ ।

विशेष महाधिवेशनको उद्घाटन सत्रले कांग्रेसमा संस्थापनको पर्खाल भत्काएको छ । पर्खाल भत्काएर निस्किएका देउवाका पूर्व सहयोगी धेरैले आइतबार भृकुटीमण्डपको मञ्चबाट हात हल्लाइसकेका छन् । देउवाको सत्ता पलटको उद्घोष गरिसकेका छन् । जसले राजनीतिक जीवनमा धेरै पटक देउवाको काँध थापे, उनीहरूले काँध छाडिसकेका छन् ।

नेता आफैले मतदाता छान्ने अनि आफैले छानेका मतदाताबाट आफै छानिएर नेता हुने कांग्रेसको पुरानो प्रथा हो । विशेष महाधिवेशनले त्यो प्रथाविरुद्ध धावा बोलेको छ । देउवा वा कोही अब कांग्रेसको संस्थापन रहेनन् । विशेष महाधिवेशनको अभिमतले संस्थापनको श्रीपेच खोसिसकेको छ ।

रक्षात्मक ‘देउवा गुट’

कांग्रेसको विशेष महाधिवेशन माग गर्दा २ हजार ४ सय ८८ प्रतिनिधिले हस्ताक्षर बुझाएका थिए । जसलाई संस्थापन पक्षका नेताहरूले पटक पटक ‘सनाखत गर्नुपर्ने’ भन्दै हियाउने काम गरे । विशेष महाधिवेशनको उद्घाटनसँगै अब संस्थापन पक्षको सनाखत गर्नुपर्ने भएको छ ।

आइतबारको सभामा मात्रै संस्थापन पक्षका करिब २ दर्जन बढी केन्द्रीय नेताहरू उपस्थित भए । जसले कांग्रेस केन्द्रीय समितिमै ‘देउवा गुट’ लाई रक्षात्मक बनाइदिएको छ ।

कार्यवाहक दिएर निवासमा आराम गरिरहेका छैनन्, देउवा । हरेक दिन उनको राजनीतिक भेटघाटको व्यस्तता बेग्लै छ । राष्ट्रियसभामा एमालेसँग तालमेलको निर्णय गराउनेदेखि तल्लो तहबाट सिफारिस समेत नभएकालाई टिकट दिनसम्म देउवाले भ्याएकै छन् । समानुपातिकको सूची बनाउन होस वा प्रत्यक्षतर्फको उम्मेदवार खोजीमा । देउवाको निष्क्रियता छैन । तर विशेष महाधिवेशनको बन्दसत्र सकिँदासम्म देउवाको प्राधिकार सुरक्षित नरहने निश्चित छ । कुनैबेला केन्द्रीय समितिमा ८२ प्रतिशत होल्ड गरेका देउवा, अब रक्षात्मक बन्न पुगेका छन् ।

कांग्रेसवृत्तमा जारी उथलपुथलले सोमबारको बन्दसत्रसम्म देउवालाई ‘कमजोर अल्पमतको नेता’ मा सीमित गरिदिने देखिन्छ ।

अझै अन्तिम अवसर

कांग्रेसको विशेष महाधिवेशनको मञ्च सभापति देउवाविरुद्ध त्यति आक्रामक देखिएन, जति आँकलन गरिएको थियो । सबैजसो वक्ताले देउवालाई सम्मानजनक राजनीतिक बर्हिगमनकै लागि आग्रह गरेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि अन्तिम समयसँग समयको वेग बुझ्न देउवालाई आग्रह गरेका छन् ।

नेपाली राजनीतिमा देउवाको ६ दशक लामो यात्रा उतारचढावपूर्ण नै छ । संघर्षका कठिन दिनहरूमा होस वा सत्तास्वादनका स्वर्णिम दिनहरूमा देउवाले यति धेरै अप्ठ्यारो व्यहोरेका थिएनन् । सफल नेताले सुविधामा मात्रै होइन, संकटमा पनि समयको पदचाप बुझ्छ ।

कांग्रेस विभाजनको संघारमा छ । राजनीतिक जीवनको उत्तरार्धमा जुनसुकै कदम चालेर भए पनि कांग्रेसलाई एकताबद्ध बनाउँदा नै देउवाको राजनीतिक कद उँचो हुन्छ । अब महाराजगञ्जमा भेला भएका भाइभारदारको होइन, भृकुटीमण्डपमा भेला भएका कांग्रेसका भुइँमान्छेहरुको आवाज देउवाले सुन्नुपर्छ । उनका लागि अन्तिम अवसर छ ।

-नेपाल खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार