भोट मासु भातमा बेच्नु हुँदैन : नेता हर्कराज राई

  युद्धबहादुर बोहोरा
147 Shares

पाँचथर : श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले जनताले मासु–भात, पैसा र पेट्रोलजस्ता प्रलोभनमा परेर आफ्नो भोट बेचिरहेसम्म देश सुरक्षित नहुने चेतावनी दिएका छन्।

पाँचथरको मिक्लाजुङ –४ स्थित रबि बजारमा शनिबार आयोजित पार्टीको बृहत् कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “जबसम्म जनताले आफ्नो भोट जथाभावी बेचिरहन्छन्, तबसम्म भोट किनेर जाने नेताले यो देश बेचिरहन्छ।”

राईले अहिलेको राजनीतिमा धेरै नेता सेवा भावभन्दा पनि व्यापारिक मानसिकतामा आएको आरोप लगाए। उनले पटक–पटक चुनावमा लगानी गरेर करोड कमाउने अनि दशौँ करोड कमाउँदै  खर्च गर्ने र अन्ततः अर्बौं कमाउने धन्दामा सोझा नागरिकहरू प्रयोग भइरहेको बताए।

“हामीले भोट बेचिरह्यौँ भने नेताले देश बेचिरहन्छ—नदी, नाला, ताल मात्र होइन, देशको स्वाधीनतासमेत बेचिन्छ,” उनले भने, “त्यसैले नेपाली मतदाताले भोट बेच्नु हुँदैन।”

कार्यक्रममा उनले सहभागी कार्यकर्तालाई तीन पटकसम्म ‘हामी भोट बेच्छौं त ?’ भन्ने प्रश्न दोहोर्याउँदा सहभागीहरूले ‘बेच्नु हुँदैन’ भन्ने जवाफ दिएका थिए।

राईले आफ्नो पार्टीमा नेता-कार्यकर्ता नभई सबै श्रमदाता रहेको उल्लेख गर्दै भोट बेच्ने प्रवृत्तिविरुद्ध खबरदारी गर्न आग्रह गरे। “तपाईंले भोट बेच्नु भनेको नेताले देश बेच्नु हो,” उनले भने, “हाम्रो देश विदेशीको हातमा पुग्न नदिन हामी सबै मिलेर देश बनाउने र सिंगार्ने जिम्मेवारी लिनुपर्छ।”

उनले श्रमले अल्छी मानिसलाई पनि पौरखी बनाउने उल्लेख गर्दै सबै नागरिकलाई आत्मनिर्भर र इमानदार बन्न आग्रह गरे। “बेइमानहरूले गफ गरेर जनता झुक्याउँछन्, कागज मिलाएर भ्रष्टाचार गर्छन्,” उनले भने, “उनीहरूलाई बारम्बार विश्वास गर्नु भनेको देशलाई दिनदिनै खोक्रो बनाउनु हो।”

यो देशलाई आवश्यक भनेको, माटोलाई माया गर्ने सच्चा नेपाली हो । उसैले यो देशको नेतृत्व गर्नुपर्नेमा उनले जोड दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार