
इलाम : सोनाम ल्होछारको अवसरमा फाकफोकथुम–२ भाझीमान डाँडास्थित गौतम बुद्ध सामुदायिक खेल मैदानमा ३ दिवसीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदैछ।
आयोजक समितिका अनुसार प्रतियोगिता माघ ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा फाकफोकथुम गाउँपालिका तथा आसपासका वडाबाट पुरुष भलिबल टोलीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु. २० हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ भने दोस्रो हुने टोलीलाई नगद रु. १० हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले दुई हजार रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्नेछ। साथै खेलाडीहरूले खेलमा सहभागी हुन आउँदा आफ्नो वडाको परिचय खुल्ने गरी जन्मदर्ता वा नागरिकता अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको आयोजकले जानकारी दिए ।
सोनाम ल्होछारको अवसरमा आयोजना हुन लागेको यस भलिबल प्रतियोगिताले स्थानीय खेलकुदको प्रवर्द्धन गर्नुका साथै युवाहरूबीच आपसी सद्भाव, एकता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने अपेक्षा आयोजक समितिले गरेको छ।
























































