प्रथम फाल्गुनन्द भेट्रान्स कपको उपाधि फाल्गुनन्द कर्मचारीलाई

  युद्धबहादुर बोहोरा
245 Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिका–५ स्थित घुर्विसे पञ्चमी माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न प्रथम फाल्गुनन्द भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि फाल्गुनन्द कर्मचारी भेट्रान्सले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा फाल्गुनन्द कर्मचारी भेट्रान्सले कुम्मायक भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको अन्तिम समयमा फाल्गुनन्द कर्मचारीका जर्सी नम्बर ३ का विकास मगरले लगातार दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे। कुम्मायक भेट्रान्स उपविजेता बनेको छ। प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले १० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो।

यसअघि भएको दोस्रो सेमिफाइनल खेलमा निर्धारित समयमा बराबरी भएपछि टाइब्रेकरमा कुम्मायक भेट्रान्सले मिक्लाजुङ भेट्रान्सलाई ४–२ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। पहिलो सेमिफाइनलमा फाल्गुनन्द कर्मचारी भेट्रान्सले आयोजक फाल्गुनन्द भेट्रान्सलाई २–१ गोल अन्तरले हराएको थियो। फाइनल खेलको प्लेयर अफ द म्याच फाल्गुनन्द कर्मचारीका जर्सी नम्बर ३० का देवी तुम्बापो घोषित भए।

प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको थियो। प्रतियोगितासँगै महिला मैत्रीपूर्ण खेल समेत आयोजना गरिएको थियो। समापन कार्यक्रममा फाल्गुनन्द गाउँपालिका–५ का वडाध्यक्ष विष्णुकुमार चेम्जोङको प्रमुख आतिथ्य रहेको थियो। सो अवसरमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबको अन्डर–१८ टोलीमा छनोट भएका स्थानीय खेलाडी येलुङ चेम्जोङलाई सम्मान गरिएको थियो।

 लेफ्ट फुटेट १६ वर्षका खेलाडी चेम्जोङ र सहयोगीहरूलाई मायाको चिनो प्रदान गरिएको खेल संयोजक विनोद आङ्देम्बेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार