इलाममा पनि मनाईयो तथ्याङ्क दिवस !

  झलक भट्टराई
112 Shares

इलाम : ‘आधिकारिक तथ्याङ्क, पारदर्शी शासन’ भन्ने मूल नाराका साथ यस वर्षको तथ्याङ्क दिवस इलाममा विशेष कार्यक्रमका साथ मनाइएको छ। तथ्याङ्क दिवसको अवसरमा इलाम नगरपालिका अन्तर्गतका माध्यमिक तहका विद्यार्थीहरूबीच ‘देश विकासमा तथ्याङ्कको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो।

तथ्याङ्क समन्वय कार्यालय इलाम (कार्य क्षेत्र– ताप्लेजुङ, पाँचथर, इलाम, झापा) को आयोजनामा जिल्ला समन्वय समिति इलामको सभाहलमा २०८२ साल पुस १७ गते आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रेम नेपालको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा इलाम नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राधिका घिमिरे, विभिन्न विद्यालयका प्रतिनिधि तथा शिक्षकको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा स्वागत मन्तव्य तथ्याङ्क अधिकृत किरणकुमार राईले प्रस्तुत गरेका थिए ।

यस्तै प्रतियोगिताको निर्णायक मण्डलमाम.र.ब क्याम्पस उपप्राध्यापक दामोदर चापागाईं, उपप्राध्यापक बिमला मिश्र र  जनता मावि, माई–९ का माध्यमिक शिक्षक होमनाथ प्रधान रहेका थिए ।

वक्तृत्वकला प्रतियोगितामा पुर्ण स्मारक मावि, इनपा–१० गोदककी कक्षा ११ की छात्रा मनिषा पाख्रिन प्रथम स्थान हासिल गर्दै नगद ७ हजार सहित प्रमाणपत्र प्राप्त गर्न सफल भइन्। यस्तै दोस्रो स्थान सुनाखरी इंग्लिस बोर्डिङ स्कुलकी छात्रा सदु खड्का ले हासिल गर्दै नगद ५ हजार तथा प्रमाणपत्र प्राप्त गरिन्।
तेस्रो स्थान वाल मण्डल मावि, इनपा–४ जसवीरेका छात्र ललित राय ले हासिल गर्दै नगद ३ हजार सहित प्रमाणपत्र पाए।

त्यसैगरी सात्वना स्थान प्राप्त हेरिटेज नेशनल एकेडेमी, इनपा–९ का रिदम अधिकारी ,ग्रीन भ्याली एकेडेमी, इनपा–७ की साक्षी राईले जनही एक हजार  सहित प्रमाणपत्र प्राप्त गरेका थिए।

प्रतियोगितामा सहभागी अन्य वक्ताहरूलाई समेत प्रोत्साहनस्वरूप ५ सय तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा विद्यार्थी वक्ताहरूले आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक विकासका योजना निर्माणमा सरकारी कार्यक्रम र कार्यसम्पादनको मूल्याङ्कनमा दिगो विकासका लक्ष्यअनुसार नीति निर्माणमा अध्ययन तथा अनुसन्धान प्रवर्द्धनमा
तथ्याङ्कको भूमिका निर्णायक रहने उल्लेख गरे।

वक्ताहरूले विशेषगरी जनआन्दोलन र पूर्वाधार विकासका मुद्दामा उचित तथ्याङ्क अभाव हुँदा अनेक क्षेत्र प्रभावित भएको चर्चा गरेका थिए।

कार्यक्रममा सहभागी शिक्षकतर्फबाट माउन्ट मेची बोर्डिङ स्कुलका शिक्षक दिवाकर भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। अतिथि तर्फबाट शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राधिका घिमिरे ले आफ्ना विचार राखेका थिए ।

त्यसपछि निर्णायक मण्डलतर्फबाट होमनाथ प्रधानले नतिजा सार्वजनिक गरे । यस्तै कार्यक्रमको समापन कार्यक्रम संयोजक तथा तथ्याङ्क समन्वय कार्यालय इलामका प्रमुख प्रेम नेपालले धन्यवाद मन्तव्य सहित गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार