
- सन् २०२५ को ११ महिनामा इलाम र बझाङ विमानस्थलले क्रमशः ८३ र १२७ यात्रुलाई सेवा दिएका छन्।
- नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पहाडी भेगका विमानस्थलमा साना जहाजको अभावले नियमित उडान हुन सकेको छैन।
- पोखरा विमानस्थलबाट ७ लाख ९८ हजार ७ सय ९१ यात्रुले सेवा लिएका छन्, जुन आन्तरिक उडानमा सबैभन्दा बढी हो।
काठमाडौं : सन् २०२५ को ११ महिनामा इलाम र बझाङ विमानस्थलले सबैभन्दा कम यात्रुलाई सेवा दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार इलामस्थित फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलमा ८३ जना यात्रुले मात्र सेवा लिएका छन् ।
बझाङस्थित विमानस्थलमा भने १ सय २७ यात्रुले मात्र सेवा लिएको तथ्यांक छ । यात्रु पाइए पनि वायुसेवा कम्पनीसँग पर्याप्त साना जहाज नहुँदा अहिले पहाडी भेगका विमानस्थलमा नियमित उडान हुन सकेको छैन । तथ्यांक अनुसार ताप्लेजुङ विमानस्थलमा ४ सय ५ यात्रुले सेवा लिएका छन् ।
खोटाङको मनमाया राई खानीडाँडा विमानस्थलमा ४ सय ९९ र साँफेबगर विमानस्थलमा ३ सय ५ यात्रुले सेवा लिएको प्राधिकरणको तथ्यांक छ । त्यस्तै ओखलढुंगाको रुम्जाटारमा ५ सय ८ र गुल्मीस्थित रेसुङ्गा विमानस्थलमा ६ सय ५६ यात्रुले सेवा लिएको प्राधिकरणले जनाएको छ ।
आन्तरिकतर्फ सबैभन्दा धेरै यात्रुले सेवा लिएको विमानस्थल पोखरा हो । यस विमानस्थलबाट ७ लाख ९८ हजार ७ सय ९१ यात्रुले सेवा लिएकोमा अधिकांश आन्तरिक यात्रु हुन् । त्यस्तै लुक्लामा १ लाख ३० हजार ५ सय ४६ यात्रुले सेवा लिएका छन् । रारामा १० हजार ३ सय ११ यात्रुले सेवा लिएको तथ्यांक छ । रामेछापबाट ३३ हजार ५ सय ४९ यात्रुले सेवा लिएका छन् ।
हब विमानस्थलमध्ये नेपालगञ्जले ४ लाख ९८ हजार १ सय ९० र विराटनगरले ६ लाख ६९ हजार ४ सय ३४ यात्रुलाई सेवा दिएका छन् । भैरहवामा आन्तरिकतर्फ ६ लाख ७५ हजार ३ सय ३४ यात्रुले सेवा लिएको तथ्यांक छ । धनगढीमा २ लाख ९० हजार ७ सय ३६ यात्रुले सेवा लिएका छन् ।
सिमरामा २ लाख १३ हजार १ सय ७०, भद्रपुर २ लाख ६ हजार २ सय ६० यात्रुले सेवा लिएको तथ्यांक छ । जुम्लामा १० हजार ८ सय ४०, डोल्पा ४ हजार ९ सय ३९, बाजुरा ९ हजार ९ सय ४०, भोजपुर २ हजार ८ सय ९८, फाप्लु ४ हजार २ सय ५८ र दाङमा १ हजार २ सय ६६ यात्रुले सेवा लिएका छन् ।
























































