
इलाम : इलामको रोङ गाउँपालिका ६, सलकपुर मह उत्पादनको महत्त्वपूर्ण केन्द्र बन्दैछ । तर, यही पहिचान बनाइरहेको मौरीपालन व्यवसाय अहिले मौरीको घट्दो संख्या, वातावरणीय जोखिम र प्राविधिक अभावका कारण चुनौतीको मोडमा पुगेको छ । बजारमा महको माग बढ्दो भएपनि उत्पादन दीगो बनाउने सबाल अझै पेचिलो देखिएको छ ।
तराईका २१ जिल्लामा मेलिफिरा जातको मौरी पालिनेगरेपनि पहाडी जिल्लामा सेरेना लोकल जातको मौरी प्रमुख मानिन्छ । सामान्यतया तातो र पूर्वपट्टि फर्किएको स्थानमा राम्रो उत्पादन दिने सेरेना मौरी पछिल्लो समय हिमाली भेगमा समेत अनुकूल हुँदैगएको छ, जसले जलवायु अनुकूलन क्षमताको संकेत गर्छ ।
सलकपुरमा आधुनिक मौरीपालनको सुरुआत २०१६ सालमा गरिएको थियो । समयक्रमसँगै परम्परागत मौरीपालन व्यावसायिक उत्पादनतर्फ रूपान्तरण हुँदैगएको छ । हाल मौरीपालक समूहमा ८० घर–परिवारभन्दा बढी किसान आबद्ध छन् । गतवर्ष सलकपुर क्षेत्रमा ७ क्विन्टलभन्दा बढी मह उत्पादन भएको थियो ।
एउटा मौरी घारबाट वार्षिक १४–१५ केजीसम्म मह उत्पादन हुने गरेको छ, जसका लागि करिब १६ हजार फूलको रस संकलन गर्नुपर्ने हुन्छ । स्थानीय किसान सुरेश राई भन्छन्, ‘पहिला मौरी धेरै हुन्थ्यो, अहिले उत्पादन गर्नसक्ने क्षमता त छ तर मौरी नै कम हुँदैछन् । विषादी र मौसम परिवर्तनले धेरै असर गरेको छ ।’ मौरीपालनले किसानको जीविकोपार्जनमा महत्त्वपूर्ण योगदान दिएको छ । स्थानीय किसान मीना राईका अनुसार ६ घारबाट सुरु गरेको मौरीपालन अहिले ३० घारसम्म पुगेको छ । मह बिक्रीबाट घरखर्च चलाउन सजिलो भएको छ उनलाई । तर, तालिम र सहयोग अझै पुगेको छैन ।
मौरीपालक तथा प्रशिक्षक कुमार मोक्तानका अनुसार पछिल्लो समय महको प्रशोधन र बजार व्यवस्थापनमा नियम–कानुन कडा बनाइएको छ । ‘गुणस्तरका लागि नियम आवश्यक छ तर साना किसानलाई लक्षित सहजीकरण नहुँदा समस्या आएको छ । अहिले नियमअनुसार प्रशोधन गरेरै बजारमा पठाइरहेका छौं,’ मोक्तानले बताए ।
हाल सलकपुरमा उत्पादन भएको मह प्रतिकेजी करिब १ हजार ५ सय रुपैयाँमा बिक्री हुँदैआएको छ । स्थानीय किसान राजु शेर्पा भन्छन्, ‘मह जति उत्पादन गरेपनि बजारमा तुरुन्तै बिक्री हुन्छ । ग्राहक खोज्नुपर्दैन, हाम्रो उत्पादन कम नै हुन्छ ।’
सलकपुरको मौरीपालन अभ्यासमा लागेका कुमार मोक्तानलाई नेपाल कृषि विभागले समेत पुरस्कार दिएको छ । विश्व खाद्य दिवस–२०२२ अवसरमा मोक्तानलाई पुरस्कार प्रदान गरिनुले यो क्षेत्रमा किसान उत्साहित बनेका छन् । हाल यहाँ प्रतिव्यक्ति ६–७ देखि डेढ सय घारभन्दा बढी मौरीपालन गर्ने किसान सक्रिय छन् ।
चिसो मौसममा मौरीलाई न्यानो वातावरण मिलाउने प्रविधि अपनाइएपनि दीर्घकालीन समाधान आवश्यक रहेको किसानको साझा धारणा छ । स्थानीय किसान सुरेश राई भन्छन्, ‘यदि फूलदार बिरुवा संरक्षण, विषादी नियन्त्रण र नियमित तालिम भयो भने सलकपुर मह उत्पादनको ठूलो केन्द्र बन्नसक्छ ।’
मौरी संरक्षणबिना मह उत्पादन सम्भव छैन । सलकपुरको मौरीपालन अहिले सम्भावना र संकटको दोसाँधमा उभिएको छ । अब स्थानीय तह र सम्बन्धित निकायको ठोस नीति र सहयोगबिना यो सम्भावनालाई दीगो बनाउनु चुनौतीपूर्ण देखिन्छ । तर, रोङ गाउँपालिकाले किसानका लागि गुरु किसान योजना, गुन्द्रुक ब्रान्डिङ गरेर विदेशमा बेच्दैछ भने बेसार र कफी खेतीमा समेत किसानको आकर्षण बढदो छ । अन्य पालिकाले पनि रोङको जस्तै आफ्नै ठाउँमा उत्पादन भएका वस्तुहरुको बजार खोज्ने हो भने स्थानीयस्तरमै रोजगारीको अवसरसमेत पाउने सम्भावना देखिन्छ ।
























































