
इलाम : ६ महिनाको छोटो अवधिमा पनि इलामबासीको मनमा आफ्नो प्रभावशाली नेतृत्व र माया पाएर बस्न सफल प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुनिता नेपालले औपचारिक रूपमा जिल्ला प्रशासन कार्यालयको जिम्मेवारीबाट बिदाइ लिएकी छन्। गृह मन्त्रालय अन्तर्गत ४ वर्ष २ महिनाको सेवा अवधि पूरा गरेकी उनी अबदेखि लगानी बोर्डमा नयाँ कार्यक्षेत्र सम्हाल्ने भएकी हुन्।
बिदाइ सन्देशमा उनले इलाममा बिताएको छोटो समय आफ्नो सेवा यात्राको महत्वपूर्ण अनुभव भएको उल्लेख गर्दै भनेकी छन्, “छोटो बसाइमै धेरै सिक्ने अवसर पाएँ। केही काम पूरा भए, केही प्रक्रियामा छन्। सबैको माया र साथ लिएर विदा हुँदैछु।” उनले प्रतिनिधिसभा र प्रदेशसभाका सांसद, प्रदेश सरकार, स्थानीय तहका प्रमुख तथा उप–प्रमुख, जिल्ला समन्वय समिति, राजनीतिक दल तथा भातृ सङ्गठनका प्रतिनिधि, उद्योगी–व्यवसायी, सञ्चारकर्मी र नागरिक समाजका अगुवाप्रति सहयोग र सुझावको लागि धन्यवाद व्यक्त गरिन ।
इलामबासीले उनको कामप्रति प्रशंसा व्यक्त गर्दै भनेका छन्, “छोटो समयमा पनि उनले हाम्रो विश्वास जित्न सफल भए, सधैं सम्झिरहिने पात्र बने।” सिडिओले सरकारी–गैरसरकारी संस्था, सुरक्षाकर्मी र कार्यालयका सहकर्मीप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि इलामसँगको सम्बन्ध अविच्छिन्न रहने विश्वास व्यक्त गरेका छन्।
























































