पुस १० गतेदेखि फिदिममा चासोक तङनाम मेला र सुम्हालुङ मिनि म्याराथन

  तागेरा तावाहाङ
42 Shares

 पाँचथरः  फिदिम नगरपालिका–४ गडीमा प्रत्येक वर्षझैँ यस वर्ष पनि चासोक तङनाम मेला तथा ८औँ सुम्हालुङ मिनि म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। मेला पुस १० गतेदेखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।आइतबार सुम्जिरि सुम्हालुङ आम्बेपज संरक्षण तथा विकास प्रतिष्ठानको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत मेलाको कार्यक्रमबारे जानकारी गराइएको हो। कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष नन्द विक्रम लावतीले खेलकुद, संस्कृति र पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए ।

उनका अनुसार मेलामार्फत स्थानीय किराँत समुदायको मौलिक लोक–संस्कृतिको संरक्षण, व्यवसायिक प्रवर्द्धन, साथै धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुम्हालुङ मन्दिरको प्रचार–प्रसार, संरक्षण र सम्वर्द्धन गर्ने लक्ष्य राखिएको छ। मेलाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ। मेलाको प्रमुख आकर्षणका रूपमा ८औँ सुम्हालुङ मिनि म्याराथन प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा पुरुषतर्फ १५.५ किलोमिटर तथा महिलातर्फ ५.३ किलोमिटर दूरी समावेश गरिएको छ।

म्याराथन प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने खेलाडीले ३० हजार रुपैयाँ, दोस्रो हुनेले २० हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै महिलातर्फ प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ। दुवै विधाका विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ। साथै सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई १ हजार रुपैयाँ नगद प्रदान गरिनेछ।

मेलाका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय कला–संस्कृति झल्किने प्रस्तुति, परम्परागत खानाका परिकार तथा स्थानीय उत्पादनको प्रदर्शनीसमेत गरिने तयारी गरिएको छ।मेलाले पाँचथर जिल्लाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार