
पाँचथर: यासोकस्थित श्री पृथ्वी माध्यमिक विद्यालयको खेलमैदानमा रानीगाउँ युवा क्लबको आयोजनामा पुरुष खुल्ला नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
पुस २ गतेदेखि शुरु भएको प्रतियोगिता शनिबार समापन भएको हो। प्रतियोगितामा कुम्मायक कुस्साय समाजले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। विजेता टोलीले प्रमाणपत्र, ट्रफीसहित नगद रु ३५ हजार पुरस्कार प्राप्त गरेको छ।
त्यसैगरी स्याबरूम्बा टोली दोस्रो स्थानमा रहँदै प्रमाणपत्र, ट्रफी तथा नगद रु २० हजार पुरस्कार प्राप्त गर्न सफल भएको छ।
प्रतियोगिताको अवसरमा भेट्रान्स मैत्रीपूर्ण फुटबल खेलसमेत आयोजना गरिएको थियो। कुम्मायक र फाल्गुनन्दबीच भएको उक्त खेलमा फाल्गुनन्द प्रथम हुँदै खसी पुरस्कार प्राप्त गरेको छ भने कुम्मायक दोस्रो भई बैलि बाख्रा पुरस्कारमा चित्त बुझाएको छ।
समापन समारोहका प्रमुख अतिथि कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लाओतीले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गर्दै खेलकुदले युवाहरूलाई अनुशासित बनाउनुका साथै आपसी सद्भाव र भाईचारा विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
स्थानीय युवाहरूको सक्रिय सहभागितामा सम्पन्न प्रतियोगिताले क्षेत्रीय खेलकुद विकासमा सकारात्मक योगदान पुर्याएको आयोजक रानीगाउँ युवा क्लबले जनाएको छ।
























































