
इलाम : ईलामको फाकफोकथुम गाउँपालिका-४ फुएतप्पास्थित लिम्बूगाउँमा आयोजित चासोक तङ्नाम कप २०८२ को उपाधि सिरिजङ्घा एफसी आमचोकले उचालेको छ ।
शुक्रबार भएको फाइनलमा चौबन्दी एफसी एकतप्पालाई ७-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै सिरिजङ्घाले उपाधि उचालेको हो ।
उपाधिसँगै सिरिजङ्घाले नगद ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता चौबन्दीले नगद २५ हजार १ सय ५० सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा विजेता सिरिजङ्घाका पवन राई उत्कृष्ट गोल रक्षकको अवार्ड प्राप्त गरे । उत्कृष्ट डिफेण्डर सिरिजङ्घाकै मनि थेगिम र सर्वाधिक गोलकर्ता सिरिजङ्घाकै ओसन राई घोषित भए । उत्कृष्ट खेलीडी भने उपविजेता चौबन्दीका संगिन लिम्बू घोषित भए ।

विजेता र उपविजेता टिम र खेलाडीलाई आयोजक फुङ्वा युवा क्लवका अध्यक्ष पदम योङ्हाङ, फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक, फाक्फोकथुम-४ का वडा अध्यक्ष पदम मगर, फाल्गुनन्द गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख अधिकृत चन्द्र योङहाङ, फाकफोकथुम गाउँपालिका कार्यपालिका सदस्य कविता राईलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।
किरातीहरुको महान् चाड उधौलि पर्व चासोक तङ्नामको अवसरमा गत मंसिर २१ गतेदेखि मंसिर २६ सम्म फुङ्वा युवा क्लबल प्रतियोगिता आयोजना गरेको हो ।
१६ वटा टिमको सहभागिता रहेको प्रतियोगिता चासोक तङ्नाम खेलमैदानमा संचालन भएको थियो ।
























































