फाल्गुनन्द गाउँपालिकामा १६ औं राष्ट्रपति रनिङ शिल्ड सुरु (फोटो फिचरसहित)

  युद्धबहादुर बोहोरा
175 Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपस्थित जनकल्याण माध्यमिक विद्यालय, कोल्बुङको आयोजनामा गाउँपालिका स्तरीय ८ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। प्रतियोगिता गाउँपालिकाको सहयोगमा अन्तरविद्यालय स्तरमा सञ्चालन गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिं नेम्वाङ रहनु भएको थियो। १६ राष्ट्रपति रनिङ शिल्ड उद्घाटन समारोहमा बोल्दै उपाध्यक्ष नेम्वाङले खेलकुदले मानिसलाई स्वस्थ, अनुशासित र एकताबद्ध बनाउने उल्लेख गर्दै स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्न राष्ट्रपति रनिङ शिल्ड महत्वपूर्ण माध्यम बनेको बताए। खेलकुदमार्फत गाउँपालिकालाई देश तथा विदेशमा चिनाउन सकिने उहाँको भनाइ थियो।

 

कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख मेदनी प्रसाई, शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका निमित्त प्रमुख बज्रभूषण राय, वडा नं. ६ का अध्यक्ष नारायणप्रसाद आङ्देम्वे लगायतले शुभकामना मन्तव्य राखेका थिए। आयोजक विद्यालयका प्रधानाध्यापक पूर्णकुमार सदेम्बाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक गोपाल चेम्जोङले गरेका थिए।

उद्घाटनअघि सहभागी विद्यालयका विद्यार्थीहरूले आकर्षक मार्च पास प्रस्तुत गरेका थिए। मार्च पास प्रतियोगितामा सिद्धदेवी मावि नवमीडाँडा प्रथम, पाथिभरा इङ्लिस बोर्डिङ स्कुल दोस्रो र सत्यहाङमा मावि तेस्रो भएका छन्। सो अवसरमा विद्यालयको भौतिक संरचना निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएका स्वर्गीय तिलोकसिं चेम्जोङको परिवारलाई सम्मान गरिएको छ। उहाँले विद्यालयका लागि ८ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो। साथै विद्यालयको खेलमैदानसँगै उहाँकै नाममा परिवारद्वारा निर्माण गरिएको कार्यक्रम स्थल (स्टेज) समेत आजै औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

मंसिर २७ देखि २९ गतेसम्म तीन दिन सञ्चालन हुने प्रतियोगितामा एक निजी सहित १२ वटा माध्यमिक विद्यालय सहभागी छन्। प्रतियोगितामा छात्र तथा छात्रा तर्फ भलिबल, कबड्डी, हाइजम्प, लङजम्प, ट्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, कराते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, दौड तथा रिले लगायतका खेलहरू समावेश गरिएको छ।

उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। स्वागत नृत्यसहित प्रस्तुत सांस्कृतिक कार्यक्रमहरूले उद्घाटन समारोहलाई थप आकर्षक बनाएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार