इलामको साङरुम्बा नाम मात्रैको नगरपालिका, सेवा सुविधा भने कर्णाली सरह

  झलक भट्टराई
1.2k Shares

इलामः इलाम नगरपालिका १२ साङ्रुम्बाका स्थानीयवासी वर्षौंदेखिको खानेपानी अभाव, जीर्ण सडकको समस्याले दैनिकी नै संकटग्रस्त बनेको गुनासो गर्दै आएका छन्। ‘नगरपालिका’ नाम भए पनि सेवा सुविधा कर्णालीका दुर्गम बस्तीसरह रहेको स्थानीयको आरोप छ।

बस्तीमा नियमित खानेपानी नआउने, ट्याङ्की वा वैकल्पिक स्रोत नहुँदा पानी बोकेर दैनिक जीवन गुजार्नुपर्ने बाध्यता स्थानीयको दशकौँदेखिको पीडा बनेको छ। धेरैपटक वडा कार्यालयमा निवेदन दिए पनि प्रभावकारी पहल नदेखिएको उनीहरूको गुनासो छ।

यस्तै, वडाभित्रका मुख्य सडकहरू वर्षौंदेखि मर्मत सम्भार नहुँदा दयनीय अवस्थामै छन्। वर्षायाममा हिलो, चिप्लिने, पानी जम्ने र दुर्घटना जोखिम बढ्ने समस्या बारम्बार दोहोरिने गरेको स्थानीय चण्डी विक्रम चौहान, नेत्र सापकोटा, भुवन चौहान, पृथबहादुर दर्जी, कर्ण कटुवाल, यामप्रसाद दुलाल र चुनेश्वरी उप्रेतीलगायतले बताएका छन्।

समस्या समाधानमा ढिलाइ भएको भन्दै केही स्थानीयले वडाध्यक्ष लाखमान लिम्बुमाथि ध्यान नदिएको, काममा सुस्तता देखिएको र पारदर्शिताको अभाव रहेको आरोपसमेत लगाएका छन्। योजनाको अवस्था र बजेट उपयोगबारे स्पष्ट जानकारी नदिएको उनीहरूको दाबी छ।

आरोपप्रति प्रतिक्रिया जनाउँदै वडाध्यक्ष लाखमान लिम्बुले कात्तिक १८ गतेको भीषण वर्षाले खानेपानीका पाइप तथा योजना तहसनहस भएपछि समस्या थप जटिल बनेको बताए। यस ठाउँमा “मूहानको विकल्प छैन, २/३ सय मिटर पाइपको कामले समाधान हुँदैन,” वडाध्यक्षले भने। उनका अनुसार ८ करोड रुपैयाँको सडक निर्माण प्रक्रिया अघि बढिरहेको छ भने एक पुलको ठेक्का पनि भइसकेको छ। चुहान गाउँ मात्र नभएर लिम्बु, कटुवाल गाउँलगायतमा उस्तै समस्या रहेको बताउँदै यसको उचित  समस्या हल गर्ने पहल गरिरहेको बताए ।

तर स्थानीयवासी भन्छन् “नगरपालिका सुन्न मात्रै, सेवा सुविधा भने कर्णालीका दुर्गम गाउँजस्तै।” मालपोत, कर र राजस्वका बोझ भने पूरा तिर्नुपरे पनि जीवनस्तर सुधारका आधारभूत सेवामा राज्यको उपस्थिति ‘नाममात्र’ देखिएको उनीहरूको गुनासो छ। स्थानीयले खानेपानीको दीर्घकालीन समाधान, सडकको तत्काल मर्मत सम्भार तथा योजनाहरूको पारदर्शी विवरण सार्वजनिक गर्न वडासँग माग दोहोर्याएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार