
इलाम : नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्ष माधव चम्लागाईंलाई नेपाली कांग्रेस इलाम क्षेत्र न. २ ले प्रतिनिधिसभा समानुपातिकतर्फ खुल्ला उम्मेदवारका लागि नाम सिफारीस गरेको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचको समानुपातिकतर्फका लागी नेता चम्लागाईंको नाम सिफारीस भएको हो ।
अपाङ्गता भएका व्यक्तिले पनि सगरमाथा आरोहण गर्न पाउने अधिकारलाई विश्वमा स्थापित गर्न सफल भएका चम्लागाईं विगत डेढ दशकदेखि पार्टीको क्रियाशील सदस्य थिए। साथै दुई दशक पत्रकारितामा क्रियाशील रहेका थिए ।
अपाङ्गता भएका व्यक्तिले पनि सगरमाथा लगायतका ६५ सय भन्दा माथिका हिमाल आरोहण गर्न पाउने अधिकार दिलाएर पृथक परिचय बनाएका चम्लागाईंले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार स्थापनाका लागि राष्ट्रियस्तरमा खेलेको भूमिका र कांग्रेसका विभिन्न इकाइहरुमा बसेर काम गरेको अनुभवलाई अब सक्रिय कांग्रेसको राजनीतिमार्फत सदुपयोग गर्ने प्रतिक्रिया दिएका छन् ।
प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको पारिवारिक पृष्ठभूमिमा जन्मिएका चम्लागाईं काठमाडौंमा रहेर इलामका विकाससँग सम्बन्धित महत्वपूर्ण काममा योगदान दिंदै आएका छन्।
नेपाल पत्रकार महासंघको पूर्वकेन्द्रीय सदस्य तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य चम्लागाईं इलामेली विद्यार्थी मन्चको अध्यक्ष समेत भएर काम गरिसकेका उनी आमसंचार तथा पत्रकारिता विषयका स्नाकोत्तर पनि हुन्। उनी जिल्ला तथा केन्द्रीय स्तरमा रहेर अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि निरन्तर क्रियाशील छन्।
क्षेत्रीय कार्यसमितिको बैठकबाट प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारका बन्न आकांक्षी अन्य नेताहरुको नाम पनि सिफारिस गरेको भएपनी चम्लागाईंकाे प्राथमिकता रखेको समाचार श्रोतले बताएको छ । सबैको नाम क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमिति पठाएको बताईएको छ ।






















































