पाँचथरमा जेनजी  रेड फोर्स गठन, दिलिप चापागाई संयोजक चयन

  नयाँ बुलन्द
154 Shares

पाँचथरः  पाँचथरमा जेनजी रेड फोर्सको जिल्ला समिति गठन गरिएको छ। फिदिममा भएकाे पहिलो गठन बैठकले दिलिप चापागाईलाई जिल्ला संयोजकमा चयन गरेको छ। जेनजी रेड फोर्सकी केन्द्रीय संयोजक स्मृति तिमसिनाको उपस्थितिमा समितिको औपचारिक गठन गरिएको हो। गठन बैठकले सह–संयोजकमा प्रज्वल जबेगू र प्रवक्तामा रोदन विश्वकर्मालाई जिम्मेवारी प्रदान गर्दै २१ सदस्यीय जिल्ला समिति घोषणा गरेको छ।

केन्द्रीय संयोजक तिमसिनाका अनुसार जिल्ला कमिटी गठनसँगै स्थानीय तह—पालिका तथा वडास्तरमा पनि संगठन विस्तार गर्ने तयारी थालिएको छ। उनका अनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशभर विभिन्न संगठन तथा समूहहरूले जेनजी फोर्सहरू गठन गर्दै आएका छन्। हाल सबै जिल्लामा जेनजी रेड फोर्सका संरचना बनेर सकिएको जानकारी उनले दिइन्।आयोजकका अनुसार देशमा मौजुदा भ्रष्टाचार र अनियमितताप्रति खबरदारी र प्रतिवाद गर्ने उद्देश्यले फोर्स गठन गरिएको हो। यसअघि पाँचथरमा चन्द्रप्रकाश तुम्बापो संयोजकका रूपमा रहेकामा यसपटक नयाँ समिति घोषणा गरिएको हो।

गठन कार्यक्रममा केन्द्रीय संयोजक स्मृति तिमसिना, सह–संयोजक अस्मिता खतिवडा, १ नम्बर प्रदेश संयोजक होमनाथ घिमिरे, नेकपा (माओवादी केन्द्र) पाँचथरका जिल्ला संयोजक विशाल रसाइली, वाइसिएल केन्द्रीय सचिव विक्रम शंखर, विद्यार्थी संगठन १ नम्बर प्रदेश संयोजक चन्द्र माङ्मु लगायतको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार