
इलाम : गत असोज अविरल वर्षा र त्यसपछि आएको बाढीपहिरोले इलाममा ठूलो जनधन र भौतिक सम्पत्तिको क्षति भएको छ । माङसेबुङ गाउँपालिकामा मात्र तीन जनाको ज्यान गएको छ भने १८ करोड बढीको क्षति भएको छ ।
माङसेबुङ गाउँपालिकाले तयार गरेको प्रारम्भिक तथ्याङ्क अनुसार भने १८ करोड २८ लाख ६७ हजार आठ सय रुपैयाँ बराबरको क्षति भएको छ । आइतबार बसेको माङसेबुङ गाउँपालिका विपद व्यवस्थापन समिति बैठकमा निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्जिनयर टंक मगरले प्रारम्भिक तथ्याङ्कसहितको प्रतिवेदन प्रस्तुत गरे ।
प्रतिवेदनअनुसार सार्वजनिक स्थानमा बसोवास गरेका २ घरपरिवारको ७५ लाख ४० हजार, पूर्ण रुपले आवासमा क्षति भएका १७ घरपरिवारको ४ करोड ६६ लाख ६८ हजा १ सय, आंशिक रुपले आवास क्षति भएका २२ घरको १९ लाख १४ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
त्यस्तै पशुपञ्छी तथा मत्स्य तर्फको १६ लाख ४५ हजार, जमिन तथा खाद्यबालितर्फ १७ लाख ४० हजार, विद्यालय तथा आयोजना तर्फ ९७ लाख ७६ हजार, सडकतर्फ १ करोड ५८ लाख ३० हजार, खानेपानीतर्फ २८ लाख ६८ हजार ७ सय, सिंचाई कुलोतर्फ १ करोड ४५ लाख १६ हजार र पहिरो/तटबन्धतर्फ ८ करोड ३ लाख ७० हजार रुपैयाँ बराबरो क्षति भएको जनाइएको छ ।
बैठकले १४ परिवारको स्थानान्तरणका लागि विवरण जिल्ला प्रशासन कार्यालय इलाममा पठाउने समेत निर्णय गरेको छ ।



















































