इलामः फाकफोकथुम गाउँपालिकामा पहिलो पटक राष्ट्रिय स्तरको “फर्स्ट फाकफोकथुम ओपन नेसनवाइड क्लासिकल रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८२” सुरु भएको छ। बुद्धिचाल खेलप्रतिको रुचि र चेतना विस्तार गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले गरे। वहाँ प्रमुख अतिथि रहनु भएको उद्घाटन समारोहमा उपाध्यक्ष कल्पना राईको विशेष आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा ११ वर्षदेखि माथिका ८० जना खेलाडीहरू सहभागी छन्। खेल कार्तिक ९ देखि ११ गतेसम्म सञ्चालन हुनेछ। प्रत्येक दिन तीन राउण्डका दरले खेल भई जम्मा ९ राउण्डमा प्रतियोगिता सम्पन्न गरिनेछ। कार्यक्रमका चिफ आर्बिटर डम्बर राई र असिष्टेन्टआर्बिटर नन्दबहादुर कुरुङबाङ रहेका छन्। प्रतियोगितामा जिल्ला बुद्धिचाल संघ इलामले प्राविधिक सहयोग गरेको छ भने नेपाल बुद्धिचाल महासंघले २० वटा डिजिटल घडी सहयोग गरेको जनाइएको छ ।
फाकफोकथुम बुद्धिचाल संघका अध्यक्ष गणेश मगरले खेल आयोजनाको औचित्य बारे प्रकाश पार्दै गाउँको नाम राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । सचिव दीपक घिमिरेले प्रतियोगिताबारे जानकारी दिँदै पुरस्कार वितरणदेखि व्यवस्थापनसम्मका सबै तयारी पुरा गरी प्रतियोगिताको उद्घाटन गरिएको जनाए । यस प्रतियोगिताको पहिलो पुरस्कार ३५ हजार रुपैयाँ निर्धारण गरिएको छ भने विभिन्न विधाका अन्य पुरस्कारहरू समेत समावेश छन्। जम्मा पुरस्कार रकम दुई लाख पाँच हजार पाँच सय रुपैयाँ र कुल अनुमानित खर्च चार लाख रुपैयाँ रहेको छ। सो मध्ये गाउँपालिकाबाट दुई लाख रुपैयाँ सहयोग गरिएको छ।
कार्यक्रममा कोशी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्र राई, संघका इलाम अध्यक्ष तारानिधि घिमिरेले शुभकामना मन्तव्य राखेका थिए । प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन (२०२४) राजन सुवेदीलगायत विभिन्न जिल्लाका बुद्धिचाल खेलाडीहरूको उपस्थिति रहेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर र कोशी प्रदेशका प्रतिस्पर्धीहरूले समेत प्रतियोगितामा सहभागिता जनाएका छन्।

आयोजक समिति सदस्य सरिता राईले स्वागत मन्तव्य राख्दै खेललाई सभ्य र भव्य सम्पन्न गराउन सबैको सहयोगको अपेक्षा राखिन् । गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले उद्घाटन मन्तव्य राख्दै उनले भने, “फाकफोकथुम बुद्धिचाल संघद्वारा आयोजना गरिएको यो राष्ट्रिय प्रतियोगिता हाम्रो गाउँपालिकाको गौरवपूर्ण उपलब्धि हो। यस्ता बौद्धिक खेलहरूले युवामा सोच्ने, निर्णय लिने र योजना बनाउन सक्ने क्षमता विकास गर्छन्। हामी भविष्यमा पनि यस्ता सिर्जनात्मक र ज्ञानमूलक गतिविधिलाई निरन्तर सहयोग गर्नेछौं।”























































