
इलाम : देउमाई नगरपालिका–१ मैदानेकी १० वर्षीया सिखा राई नामक बालिका कार्तिक ३ गते बिहानदेखि हराइरहेकी छन्।
केशव राई र दिलकुमारी राईकी एक मात्र छोरी सिखा हाल इलाम नगरपालिका–४ माइपोखरीस्थित जस्बिरे भन्ने ठाउँमा फुपू अन्जु राईको घरमा बसेर गत वैशाखदेखि बालमण्डल माध्यमिक विद्यालय, जस्बिरे, इलाममा कक्षा पाँचमा अध्ययन गर्दै आएकी थिइन्।
परिवारका अनुसार सिखा कार्तिक ३ गते बिहान करिब १० बजे फुपुको घरबाट घाँस लिन जाने भनेर घरबाट केही टाढा निस्किएकी थिइन्। तर, धेरैबेरसम्म फर्केर नआएपछि खोजी गर्दा समेत भेटिन नसकेकी हुन्।
परिवारले बालिकाको खोजीका लागि सबैमा सहयोग गर्न अनुरोध गरेको छ।
बालिकालाई देख्नु वा भेट्नु हुने महानुभावले नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन वा मोबाइल नम्बर ९७०३३०६१६२, ९७०३३०६१५५मा सम्पर्क गर्न परिवारले अपिल गरेको छ।























































