
इलाम : भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले इलाम माईखोलामा बाढीका कारण अबरुद्ध मेची राजमार्ग र प्रभावित बस्तिहरूको स्थलगत निरीक्षण गरेका छन । शनिबार इलाम आइपुग्नुभएका मन्त्री घिसिङले माईखोला टापु क्षेत्रमा पुगेर बाढीले पुर्याएको क्षतिको अवलोकन गरेका हुन ।

निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री घिसिङले बाढीले बगाएका घर तथा संरचनाको शीघ्र पुनर्निर्माण र मेची राजमार्गलाई चाँडो सञ्चालनमा ल्याउनका लागि आवश्यक पहल गरिने बताए ।
उनले इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरिएको उल्लेख गर्दै भौतिक संरचनाको पुनर्निर्माणमा सरकारले कुनै कमी नगर्ने प्रतिबद्धता जनाए । “राजमार्ग र प्रभावित क्षेत्र पुनःसञ्चालन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ,” मन्त्री घिसिङको भनाइ थियो ।

मन्त्री घिसिङ झापाको चन्द्रगढी विमानस्थलबाट सिधै गाडीमार्फत इलाम आइपुगेका थिए । निरीक्षणका क्रममा उनिसँग स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, तथा सरोकारवाला निकायका अधिकारीहरू पनि सहभागी थिए ।






















































