काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राखेको पार्टीको विशेष महाधिवेशन गर्ने प्रस्ताव अल्पमतमा परेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने प्रस्ताव राखे पनि त्यसमा कसैले समर्थन जनाएनन् ।
बैठकमा थापा र शर्माले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको व्यवस्थापनका लागि र युवा पुस्ताको भावना सम्मान गर्न नेपाली कांग्रेसले तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यसम्पादन समिति बैठकमा २० नेताले धारणा राखेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । कार्यसम्पादन समितिका एक सदस्य अनुसार बैठकमा बोल्ने २० मध्ये १८ जनाले थापा र शर्माको प्रस्तावमा समर्थन जनाएनन् । बरु महामन्त्रीद्वयको प्रस्तावमाथि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले प्रतिवाद गरेका थिए ।
‘उहाँहरू (थापा र शर्मा)ले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति व्यवस्थापन र युवा पुस्ताको भावनाको सम्मानका लागि नेपाली कांग्रेसले तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो,’ कार्यसम्पादन समितिका एक सदस्यले रातोपाटीसँग भने, ‘नेता सिटौला र सहमहामन्त्री डिना लगायतले त्यो धारणाको प्रतिवाद गर्नुभयो । बैठकमा बोल्ने अन्य १८ जनामध्ये कसैले पनि महामन्त्रीद्वयको प्रस्तावमा समर्थन गरेनन् ।’
बैठकमा सिटौलाले विषम् परिस्थितिमा पार्टीलाई कसरी एकताबद्ध बनाएर अगाडि बढ्ने, आत्मबल कमजोर भएका कार्यकर्ताको मनोबल कसरी उच्च बनाउने भन्नेतर्फ लाग्न छोडेर नेतृत्व परिवर्तनतर्फ लाग्न नहुनेमा सचेत गराएका थिए ।
उनले संसद् विघटन संविधान अनुसार नभएको जिकिर गर्दै संसद् विघटनलाई पार्टीले असंवैधानिक भनिसकेपछि संसद् पुनर्स्थापना प्रमुख माग हुनुपर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए । सिटौलाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘यस्तो बेलामा विशेष महाधिवेशन बोलाउने र नेतृत्व परिवर्तन गर्ने विषयतर्फ पार्टी लाग्न हुन्न । बैठकबाट यस्तो निर्णय गरिनु हुन्न ।’
संविधान बाहिर गएर निर्माण भएको सरकार कसरी जान्छ ? संविधानलाई बचाइराख्न के गर्नुपर्छ भन्नेबारे पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको आन्तरिक विषयमा अल्झिन नहुने भन्दै सिटौलाले सचेत गराएको ती नेताले जानकारी दिए ।
सहमहामन्त्री उपाध्यायले वर्तमान अवस्था निर्माण हुनुमा नेतृत्वलाई मात्रै दोष दिएर अरू उम्किन नमिल्ने बताएकी थिइन् । ‘अहिलेको परिस्थितिमा नेतृत्वलाई दोष दिएर अरू सबै उम्किन मिल्ने अवस्था देखिन्न,’ बैठकमा उनले भनिन्, ‘नेतृत्वमाथि पार्टीभित्रैबाट आलोचना गर्ने क्रम सुरु भएपछि केही समस्या देखिएका हुन् । अहिले हाम्रो मुख्य उद्देश्य संविधानवाद बचाउनतर्फ हुनुपर्छ । संविधानवाद बचाउने रणनीति निर्माणमा पार्टी एकताबद्ध भएर लाग्नुपर्छ । नसोचेको परिस्थितिमा पार्टीका साथीहरूको मनोबल उच्च बनाउनतर्फ लाग्नुपर्छ । त्यसपछिमात्र पार्टीभित्रका विषयलाई विधानसम्मत तरिकाले अगाडि बढाउने हो ।’

संविधानवाद बच्छ कि बच्दैन भन्नेमा अझै शङ्का रहेकाले त्यसतर्फ पार्टीको ध्यान केन्द्रित गर्नुपर्ने विषय आफूले बैठकमा राखेको सहमहामन्त्री उपाध्यायले रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘अहिलेको अवस्था आउनुमा नेतृत्वमात्रै दोषी होइन, अरूको पनि भूमिका छ भन्ने कुरा राखेँ ।’
बैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विशेष महाधिवेशन र नेतृत्व परिवर्तनका विषयमा पार्टीले कुनै निर्णय नगरेको प्रस्ट पारे । विशेष महाधिवेशन र नेतृत्व परिवर्तनबारे कसैका ‘निजी धारणा’ आएका हुनसक्ने उनको भनाइ थियो ।
‘विशेष महाधिवेशन र नेतृत्व परिवर्तनबारे पार्टीले कुनै निर्णय गरेको छैन,’ विश्वकर्माले पत्रकारहरूसँग भने, ‘अहिलेको मुख्य ध्येय बदलिएको परिस्थितिमा एक भएर पार्टीलाई थप सुदृढ बनाउने हो । त्यसतर्फ पार्टीको ध्यान केन्द्रित हुन्छ ।’
विश्वकर्माले पार्टीको महाधिवेशन विधानसम्मत तरिकाले नियमित प्रक्रियाबाट गर्ने तयारी रहेको जानकारी दिए । ‘कांग्रेसमा विशेष महाधिवेशन आह्वान गरेर नेतृत्व परिवर्तन गर्ने विषय नेताहरूले उठाइरहनु भएको छ । यसबारे बैठकबाट केही निर्णय भएन ?’ भन्ने पत्रकारहरूको प्रश्नको जबाफमा विश्वकर्माले भने, ‘कसैका व्यक्तिगत धारणा बाहिर आए होलान्, बैठकबाट त्यसबारे कुनै निर्णय भएको छैन । पार्टीले १५ औँ महाधिवेशनको प्रक्रिया सुरु गरेको छ । विधानसम्मत तरिकाले महाधिवेशन गर्ने कांग्रेसको मनसाय छ ।’
बैठकको सभापतित्व गरेका उपसभापति पूर्णबहादुर खड्काले जे निर्णय गरे पनि एकमत भएर कार्यान्वयन गर्ने र पार्टी एक ढिक्का बनाउने प्रस्ताव राखेका थिए । अहिलेको परिस्थितिबाट माथि उठ्न पार्टीलाई एक ढिक्का बनाउनुको विकल्प नरहेको उनको भनाइ थियो ।
बैठकमा बोल्ने २० जनामध्ये १८ जना विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने पक्षमा नदेखिएपछि खड्काले सभापतिको कुर्सीबाट त्यस्तो धारणा राखेका नेताहरू बताउँछन् ।
_CmYoujxV4v.jpg)
सहमहामन्त्री महेन्द्र यादवले बैठकमा कसैलाई पनि कार्यवाहक सभापति नदिने र विशेष महाधिवेशन पनि नगर्ने निर्णय भएको रातोपाटीलाई बताए । ‘तत्कालका लागि कसैलाई पनि कार्यवाहक सभापतिको जिम्मेवारी नदिने र पार्टीको विशेष महाधिवेशन पनि नबोलाउने निर्णय कार्यसम्पादन समिति बैठकले गरेको छ,’ यादवले भने ।
पार्टीको आन्तरिक विषयमा स्वास्थ्योपचारका क्रममा सैनिक अस्पताल छाउनीमा रहेका सभापति शेरबहादुर देउवा निको भएपछि केन्द्रीय कार्यसमितिको बैठक बोलाएर छलफल गर्ने कांग्रेसको तयारी छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सभापति देउवा र उनकी श्रीमती पार्टी केन्द्रीय सदस्य डा. आरजु राणा देउवालाई आन्दोलनकारीले उनकै निवास बूढानीलकण्ठस्थित निवासबाट बाहिर निकालेर कुटपिट गरेका थिए । देउवाको घरसमेत आन्दोलनकारीले जलाएर ध्वस्त बनाइदिएका छन् । कुटपिटबाट घाइते देउवा दम्पतीको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको जानकारी बैठकको सभापतित्व गरिरहेका उपसभापति खड्काले बैठकमा सहभागी नेताहरूलाई गराएका थिए । देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र केही दिन अझै अस्पतालमै रहने जानकारी खड्काले बैठकमा गराएको प्रचार विभाग प्रमुख विश्वकर्माको भनाइ छ ।
देउवाको गर्धनमाथि गम्भीर चोट रहेको र १२ टाँका लगाइएको पनि खड्काले जानकारी दिएका छन् ।
कांग्रेसले राजनीतिक परिस्थिति हेरेर चाँडै केन्द्रीय समिति बैठक आह्वान गर्ने तयारी गरेको नेताहरू बताउँछन् । केन्द्रीय समिति बैठक दसैँ–तिहारपछि आह्वान हुने सहमहामन्त्री यादवले बताए ।




_UAliKuUxWq.gif)






















































