इलाम : इलामको चुलाचुली गाउँपालिकाले आगामी चाडपर्वलाई लक्षित गर्दै सरसफाइ अभियानमा सक्रिय सहभागिता जनाउन सबै गाउँवासीलाई आह्वान गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै चाडपर्वलाई सफा, सुरक्षित र उल्लासपूर्ण वातावरणमा मनाउन सामूहिक प्रयास आवश्यक रहेको बताएको हो ।
गाउँपालिकाले घर वरिपरि तथा सार्वजनिक स्थल सरसफाइ गर्ने, सडक छेउछाउका धुलो तथा फोहर हटाउने, विजुलीका पोलमा बाँकी रहेका लहरे झाडी तथा अव्यवस्थित भएका रूखपात व्यवस्थापन गर्ने कार्यमा सक्रिय भूमिका खेल्न अनुरोध गरेको छ । साथै यस अभियानलाई प्रभावकारी बनाउन वडा स्तरका टोल समितिहरूको नेतृत्व र सहकार्य हुने जानकारी दिइएको छ ।
अध्यक्ष राजेन्द्र फगामीले हस्ताक्षरित सूचनामा भनिएको छ, ‘गाउँपालिकाको आवश्यक सहयोगमा सरसफाइ अभियानलाई सबैको सामूहिक प्रयासबाट मात्र सफल बनाउन सकिन्छ।’
गाउँपालिकाले यो अभियान सफल बनाउन सम्पूर्ण गाउँवासीलाई हातेमालो गर्न हार्दिक आह्वान समेत गरेको छ ।



















































