इलाम : इलामको माङसेबुङ गाउँपालिकाले दुई दिन शोक विदा दिएको छ । सोमबार काठमाडौँसहित देशका विभिन्न स्थानमा भएको ‘जेनजी आन्दोलन’ का क्रममा सुरक्षाकर्मीको गोली लागि १९ जना विद्यार्थीको मृत्यु भएको घटनाप्रति शोक व्यक्त गर्दै माङ्सेबुङले मङ्गलबार र बुधबार शोक बिदा दिएको हो ।
गाउँपालिकाले मङ्गलबार एक सूचना जारी गर्दै भदौ २५ र २६ गते (मंगलबार र बुधबार) गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक विद्यालयलगायतका सम्पूर्ण कार्यालय बन्द रहने जनाएको छ ।
गाउँपालिकाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक विद्यार्थीप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
गाउँपालिका अध्यक्ष हेमन्त राईद्वारा हस्ताक्षरित सूचनामा मृतकहरूको आत्माको चीरशान्ति र शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ ।




















































