इलाम : इलामको फाकफोकथुम गाउँपालिका वडा नं. २ र ६ को सिमानामा रहेको पसल बजारमा खानेपानी योजनासम्बन्धी छलफल सम्पन्न भएको छ। भदौ २० गते सम्पन्न छलफल कार्यक्रममा फिल्ड प्राविधिक शेरबहादुर थापाका अनुसार पसल बजारबाट दुई किलोमिटर टाढा नुनथला मुहानबाट फलाटेसम्म पानी ल्याइनेछ र ४८ घरधुरीमा मिटरसहित धारा जडान गरिनेछ। उक्त आयोजना सम्पन्न भएपछि करिब २२५ जनसंख्या लाभान्वित हुने बताइएको छ।
खानेपानी आयोजना टेवा नेपालको सहयोग र सहयात्रा नेपाल इलामको आयोजनामा सञ्चालन हुँदैछ। उपभोक्ता समितिको अध्यक्ष देवीमाया बर्देवा र सचिव फुलकुमारी राई रहेका छन्। कार्यक्रममा वडा नं. ६ का अध्यक्ष टंक खनालको आतिथ्य रहेको थियो।

विगतको योजनाबाट पानी अपुग भएपछि थप योजना ल्याइएको हो। बजार विस्तारसँगै पानीको आवश्यकता बढेको स्थानीयले बताएका छन्। योजना कार्यान्वयनका लागि फाकफोकथुम गाउँपालिकाबाट ६ लाख ४३ हजार ७६ रुपैयाँ र टेवा नेपाल काठमाडौंबाट ५ लाख सहयोग प्राप्त भई जम्मा ११ लाख ४३ हजार ७६ रुपैयाँको लागतमा योजना सञ्चालन गरिने सहमति भएको छ।
कार्यक्रममा सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी सिवाले आयोजनाबारे जानकारी दिएकी थिइन्। वडा सदस्य डम्बर निरौला, स्थानीय बजारवासी र उपभोक्ताको उपस्थिति रहेको थियो। योजना आगामी तीन महिनाभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ।


























































