इलाम : इलामको माङसेबुङ गाउँपालिकाले वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र विवरण संकलन (फोटो खिच्ने) तथा तयार भएका परिचयपत्र (कार्ड) वितरण गर्ने भएको छ । गाउँपालिकाले नागरिकहरुलाई तोकिएको मिति र स्थानमा उपस्थित भएर आवश्यक कार्य पूरा गर्न आग्रह गरेको छ ।
गाउँपालिकाका अनुसार भदौ २० र २१ गते वडा नं. २ मा विवरण संकलन कार्ड वितरण हुनेछ । भदौ २२ र २३ गते वडा नं. १ मा, २४ र २५ गते वडा नं. ६ मा र २६ र २७ गते वडा नं. ३ मा विवरण संकलन र कार्ड वितरण दुवै प्रक्रिया सञ्चालन हुनेछन् । त्यस्तै सोही भदौ २८ र २९ गते वडा नं. ५ मा र भदौ ३० र ३१ गते वडा नं. ४ मा विवरण संकलन र कार्ड वितरण हुने गाउँपालिकाले जानकारी दिएको छ।
गाउँपालिकाले विशेषगरी अघिल्लो चरणमा जिल्ला प्रशासन कार्यालय इलाममा विवरण संकलन गरेर पनि कार्ड प्राप्त गर्न बाँकी रहेका नागरिकलाई यस अवसरमा अनिवार्य रुपमा उपस्थित भई आफ्नो परिचयपत्र लिन अनुरोध गरेको छ । गाउँपालिकाले बायोमेट्रिक प्रक्रिया पूरा गरिसकेका तर कार्ड नपाएका नागरिकले तोकिएको मितिमा आफ्नो वडा कार्यालयमा सम्पर्क गरी कार्ड लिन सक्ने स्पष्ट पारेको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासनिक अधिकृत बुद्धिप्रसाद खतिवडाले राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण संकलन कार्यलाई सफल बनाउन सबै वडाका नागरिकलाई सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन् । उनका अनुसार राष्ट्रिय परिचयपत्र नागरिक पहिचानसँग जोडिएको मात्र नभई राज्यका विभिन्न सेवा र सुविधा उपभोग गर्ने आधार भएकाले सबै नागरिकले यो प्रक्रिया पूरा गर्न जरुरी छ।
गाउँपालिकाले आफ्नो जनशक्ति, प्राविधिक सहयोग र आवश्यक पूर्वतयारी पूरा गरी वडागत रुपमा कार्यक्रम अघि बढाइने जनाएको छ । यसले वडागत नागरिकलाई सहज हुने र गाउँपालिकाले पनि सेवा वितरणलाई प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिएको छ ।

























































