
इलाम : दुई दिवसीय आधारभूत पत्रकारिता तालिम आइतबार इलाम सदरमुकाममा सुरु भएको छ ।
लिम्बू पत्रकार उत्पादन गर्ने उदेश्यले लिम्बू पत्रकार संघ इलामले तालिम आयोजना गरेको हो । सदरमुकामस्थित नेपाल आदिवासी जनजाति महासंघको हलमा आयोजित तालिममा २३ जना लिम्बू युवाहरुको सहभागिता रहेको छ ।
तालिमका सहभागीहरुलाई पत्रकारद्वय याम माबोहाङ र राम योङहाङले सहजीकरण गरिरहेको आयोजककी अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् ।
सोमबारसम्म सञ्चालन हुने तालिमको दोस्रो दिन पत्रकार जीवन योङहाङले सहजीकरण गर्नेछन् ।
संघको चौथो जिल्ला अधिवेशनको अवसरमा तालिम आयोजना गरिएको अध्यक्ष सोङ्मीले बताइन् । संघको अधिवेशन मङ्गलबार सदरमुकाममा हुँदैछ ।
























































