फाकफोकथुममा भूमिसम्बन्धी समस्या समाधानका लागि १५ दिनभित्र आवेदन संकलन सुरु

 

इलाम : नेपाल सरकार अन्तर्गत भूमिसम्बन्धी समस्या समाधान आयोग, इलामका अध्यक्ष प्रकाश अधिकारी नेतृत्वको टोली फाकफोकथुम गाउँपालिकामा पुगेको छ । आयोगको टोलीसँग गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालको अध्यक्षतामा कार्यपालिका टिमबीच विशेष बैठक सम्पन्न भएको हो। बैठकले निर्णय गरे अनुसार अबको १५ दिनभित्र सम्पूर्ण ७ वटै वडाका नागरिकहरूबाट आवेदन फाराम संकलन गरिनेछ। उक्त कार्य भदौ १३ गते सुरु हुनेछ र सबै वडा कार्यालयहरूलाई आवश्यक निर्देशन जारी गरिनेछ ।

सरकारको यो अभियान जग्गाविहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबास तथा अव्यवस्थित जग्गा प्रयोगकर्ताहरूलाई व्यवस्थित गर्दै धनीपुर्जा प्रदान गर्ने अन्तिम अवसर हो। पालिका अध्यक्ष खनालले सम्पूर्ण फाकफोकथुमवासीलाई आफ्नो वडा कार्यालयमा पुगेर समयमै आवेदन फाराम भर्न अनुरोध गरेका छन् । सरकारले दिएको यो अवसर गुम्न नदिनुहोला भन्ने सन्देश कार्यपालिकाले स्पष्ट रूपमा दिएको छ। भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष अधिकारीले पनि फाकफोकथुमवासीलाई यो अभियानप्रति सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् । उहाँले भने, “सरकारले अन्तिम पटक जग्गा व्यवस्था गर्ने अभियान सञ्चालन गरेको हो। यो ऐतिहासिक अवसर हो, जसको लाभ सबै सरोकारवालाले लिनुपर्छ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार