संस्थागत क्षमता स्वमूल्याङ्कनमा माईजोगमाई गाउँपालिका अन्तिम

  नयाँ बुलन्द
84 Shares

लाम : स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा इलामको माईजोगमाई गाउँपालिकाको नतिजा निराशाजनक आएको छ । विभिन्न एक सय वटा सूचकहरुमा भएको मूल्याङ्कनका आधारमा आर्थिक वर्ष २०८०/०८१ मा इलामको १० स्थानीय तहमध्ये माईजोगमाई अन्तिम स्थानमा परेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार माईजोगमाई ६१.७५ अङ्कमा मात्र सीमित रहँदै जिल्लाको दशौं तथा अन्तिम भएको हो । नतिजा सार्वजनिक भएसँगै विभिन्न दृष्टिकोणबाट माईजोगमाईको टीप्पणी हुन थालेको छ ।

नजिता अनुसार सूर्योदय नगरपालिका ९०.५० अङ्कसहित इलामका १० सहित कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये पहिलो र देशभरका ७५३ स्थानीय तहध्ये छैठौं भएको छ ।

इलाम नगरपालिका ९० अङ्कसहित इलाम जिल्ला र कोशी प्रदेशको दोस्रो तथा देशभरमा सातौं स्थानमा परेको छ ।

त्यस्तै, सन्दकपुर गाउँपालिकाले ७९.५ अङ्क प्राप्त गरी जिल्लामा तेस्रो तथा गाउँपालिकातर्फ पहिलो स्थान हासिल गरेको छ । त्यसैगरी फाकफोकथुम गाउँपालिकाले ७८.२५ अङ्क प्राप्त गरी चौथो, रोङ गाउँपालिकाले ७८ अङ्क प्राप्त गरी पाँचौ, देउमाई नगरपालिकाले ७७ अङ्क प्राप्त गरी छैठौं स्थान हासिल गरेको छ ।

त्यस्तै, माङसेबुङ गाउँपालिकाले ७४ अङ्क प्राप्त गरी सातौं, चुलाचुली गाउँपालिकाले ७१.५ अङ्क प्राप्त गरी आठौं, माई नगरपालिकाले ६६.५ अङ्क प्राप्त गरी नवौं र माईजोगमाई गाउँपालिकाले ६१.७५ अङ्क प्राप्त गरी दशौं तथा अन्तिम स्थानमा परेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समग्र स्थिति, प्रक्रियागत स्थिति र परिणामको मुख्य तीनवटा आयामलाई आधार मानेर मूल्याङ्कन गरेको थियो । विभिन्न १० वटा विषय क्षेत्रका आधारमा स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन गर्ने गरिन्छ ।

प्रशासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन एवम् सहकार्य र समन्वयका आधारमा स्वमूल्याङ्कन गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार