इलाम: इलाम सदरमुकाममा रहेको इलाम सामुदायिक आँखा अस्पताललाई इलाम जिल्ला अस्पतालमा सारिएको नभई गाभिएको कुरा खुलेको छ। यसअघि इलाम नगरपालिकाकाले सेवाग्राही लाई अपायक पर्ने स्थानमा आँखा अस्पताल रहेकोले अस्पताललाई सेवाग्राहीहरुलाई पायक पर्ने स्थानमा सारिएको जनाए पनि वास्तविकता फरक रहेको पाइएको हो।
जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष जयप्रकाश राईका अनुसार इलाम सामुदायिक आँखा अस्पताललाई जिल्ला अस्पतालसँग गाभिएको हो र अब इलाम सामुदायिक आँखा अस्पतालको नाम नरहने बताएका छन् । उनले भने, “इलाम नगरपालिकाले एक जना नेत्र विशेषज्ञको तलब व्यवस्थापन गर्ने गरी इलाम अस्पताल र नगरपालिकाको समन्वयमा आँखा अस्पताल सञ्चालन भएको हो।”
गाभिएपछि इलाम सामुदायिक आँखा अस्पतालमा रहेका उपकरण र जनशक्तिलाई इलाम अस्पतालको ओपीडी शाखाको एउटा कोठामा सारिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काका अनुसार, प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयकै अनुमतिमा इलाम अस्पतालसँग सम्झौता गरी यो सेवा सञ्चालन गरिएको हो । सम्झौताअनुसार, एक जना नेत्र विशेषज्ञको पारिश्रमिक नगरपालिकाले र बाँकी सबै खर्च इलाम अस्पतालले नै व्यहोर्नेछ।
यसअघि, इलाम नगरपालिकाले सिंहबाहिनी खोल्सालाई व्यवस्थित गरी आँखा अस्पतालका लागि ६ कोठा भएको एक तले भवन रु. ५७ लाख ९० हजारको लागतमा निर्माण गरेको थियो । अहिले सो भवन प्रयोगविहीन अवस्थामा रहेको छ। अहिले इलाम अस्पतालको ओपीडी शाखाको एउटा सानो कोठामा आँखा अस्पतालको सेवा दिइँदै आएको छ।
























































