एसईई नतिजा सुधार अभियान अघि बढाउँदै सूर्योदय नगरपालिका

  नयाँ बुलन्द
77 Shares

इलाम : कोशी प्रदेशका पालिकामध्ये सूर्योदय नगरपालिका सामुदायिक विद्यालयको शैक्षिक सुधारतर्फ विशेष सक्रिय देखिएको छ । नगरपालिकाले आगमी वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा उत्कृष्ट बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

विद्यालयहरूले धमाधम अभिभावकहरूसँग सहमति पत्रमा हस्ताक्षर गरिरहेका छन् । उक्त सम्झौताअनुसार विद्यार्थीले पढाइ हुने दिनको कम्तीमा ७० प्रतिशत उपस्थिति अनिवार्य हुने व्यवस्था गरिएको छ । यसलाई शिक्षा सुधारको महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

साथै, नगरपालिकाले विशेष बजेट व्यवस्था गर्दै हरेक महिना नगरस्तरीय परीक्षा लिइरहेको छ । ती परीक्षाको नतिजा नगरपालिकाको शिक्षा शाखाको आधिकारिक पेजमार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाएको छ । प्राप्त नतिजाका आधारमा विद्यार्थीलाई आवश्यक अतिरिक्त कक्षा सञ्चालन गरिने र परीक्षाप्रति विद्यार्थीमा देखिने डर हटाई आत्मविश्वास बढाउने उद्देश्य रहेको नगरप्रमुख राईको भनाइ छ ।

अहिले नगरपालिकाका विद्यार्थी गणितप्रति बढ्दो रुचि देखाइरहेका छन् भने अंग्रेजी विषयमा झण्डै ९० प्रतिशत विद्यार्थीले उत्कृष्ट सफलता हासिल गरेका छन् । यसै क्रममा ‘गणितसँग खेलौं, गणितीय धारणा बसाऔं’ भन्ने नारासहित गणित अभ्यास पुस्तिका समेत वितरण थालिएको नगरपालिकाले जनाएको छ ।

सूर्योदय नगरपालिकाले आगामी वर्षको एसईईमा प्रदेशस्तरमै उत्कृष्टता हासिल गर्ने लक्ष्यसहित शैक्षिक सुधार अभियानलाई तीव्रता दिएको नगरप्रमुख राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार