फाकफोकथुममा बत्ती झ्याप्प–झ्याप्प जाने समस्या, टुकी बाल्नुपर्ने बाध्यता

  नयाँ बुलन्द
406 Shares


इलाम : इलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देमा विद्युत आपूर्तिको अवस्था अत्यन्तै दयनीय बनेको छ । मुख्य प्रशारण लाइनको बत्ती झ्याप्प–झ्याप्प जाने समस्याका कारण स्थानीयले अझै पनि टुकी बाल्नुपर्ने बाध्यतामा परिरहेका छन् ।

स्थानीयवासी राजकुमार राईका अनुसार सामान्य समयमा पनि विद्युत आपूर्ति टिकाउ छैन । दिनमा सयौं पटक विद्युत आपुर्तिमा अवरुद्ध हुन्छ । ‘कसैले अलिक ठुलो डाकार गरेजस्तो भए पनि बत्ती निभ्छ,’ उनले गुनासो गर्दै भने, ‘यो नक्कले लाइन हो, कहिले आउँछ, कहिले जान्छ भन्ने टुङ्गो नै छैन ।’

अनियमित विद्युत आपूर्तिका कारण मोबाइल, टेलिभिजनलगायतका विद्युतीय सामग्री जल्ने समस्या बढेको स्थानीयको भनाइ छ ।

त्यस्तै विद्युत अवरुद्ध हुँदा सेवाग्राहीहरुलाई सरकारी कार्यालयबाट सेवा लिन समेत समस्या भएको स्थानीयबासीको गुनासो छ । कतिपय सरकारी कार्यालयमा विद्युत अवरुद्ध हुनसाथ काम रोकिने भएकाले एउटा कामका लागि घण्टौं पर्खनुपर्ने बाध्यतामा स्थानीयबासी छन् । तर, यसबारे सम्बन्धित निकायमा पटक–पटक गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको उनीहरू बताउँछन् ।

विद्युत आपूर्ति ठप्प हुँदा सम्बन्धित निकायमा टेलिफोन सम्पर्कसमेत कठिन हुने गरेको छ । टेलिफोन सम्पर्क गर्दा पनि फोन नउठाउने गरेको स्थानीयको गुनासो छ ।

स्थानीयले समस्या समाधानका लागि चाँडै पहल गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । इलाम-मङ्गलबारे हुँदै फाकफोकथुम गाउँपालिकामा मुख्य प्रशारण लाइनको विद्युत विस्तार गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार