
इलाम : इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वय गर्ने तयारी गरेको छ । कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजफ भाषाको रुपमा कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको बेला माङसेबुङले समेत लिम्बू भाषालाई आधिकारिक कामकाजीको भाषाको रुपमा प्रयोगमा ल्याउन लागेको हो ।
गाउँपालिका अध्यक्ष हेमन्त राईका अनुसार माङसेबुङमा बहुसङ्ख्यक जनताले बोल्ने लिम्बू भाषालाई कामकाजी भाषाको रुपमा कार्यान्वयनका लागि एक जना भाषिक सहजकर्ता (सहायक पाँचौ तह) नियुक्त गर्ने तयारी गरिएको हो । यसका लागि आवेदन आह्वान गर्दा ६ जनाले आवेदन दिएका छन् । आउने भदौ ४ गते (बुधबार) छनौट परीक्षा सञ्चालन गरी नियुक्ति गरिने गाउँपालिकाले जनाएको छ ।
माङसेबुङले ‘भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास कार्यान्वयन निर्देशिका २०७५’ र ‘माङसेबुङ गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७४’ अनुसार भाषिक सहजकर्ता नियुक्त गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले जानकारी दिए ।
माङसेबुङ गाउँपालिकाको संगठन तथा व्यवस्थापन (ओएनएम) मा नै समावेश गरी भाषिक सहजकर्ता नियुक्त गर्न लागिएको उनले बताए । भाषिक सहजकर्ताले नेपाली र लिम्बू दुवै भाषामा अनुवादकको काम गर्नेछ ।
कर्मचारी नियक्ति भएपछि गाउँपालिकाभित्र औपचारिक कार्यक्रम गरी लिम्बू भाषालाई कामकाजी घोषणा गरिने अध्यक्ष राईले बताउ । उनका अनुसार बाहुल्य लिम्बू समुदायको सम्मानका लागि नेपालमै पहिलो पटक माङसेबुङमा लिम्बू भाषा कामकाजी प्रयोगमा ल्याउन लागिएको हो ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार १६ हजार ८ सय १० जनसङ्ख्या रहेको माङसेबुङमा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई समुदाय बसोबास गर्छन् । जातीय र भाषिक बाहुल्यताका आधारमा माङसेबुङले २०७५ साल मङ्सिर १३ गतेदेखि ५ नं. वडा कार्यालयमा लिम्बू भाषालाई कामकाजी घोषणा गरी लागू गरिसकिएको । त्यसै वडामा २०७६ मा एक जना भाषिक सहजकर्ता (सहायक चौथो तह) नियुक्त गरिएको थियो ।
लिम्बू भाषा लेखनमा भने लिपि किरात सिरिजङ्गा लिपिको प्रयोग गरिनेछ ।
























































