सडक डिभिजन इलामले राजस्व सङ्कलनमा नयाँ कीर्तिमान !

  राम योङहाङ
133 Shares

इलाम : सडक डिभिजन इलामले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय मात्रामा राजस्व सङ्कलन गरेको छ । उक्त आवमा डिभिजनले कुल २ करोड २ हजार २ सय ३० रुपैयाँ राजस्व सङ्कलन गरेको हो । अघिल्लो आव २०८०/८१ मा ३३ लाख ५४ हजार ७ सय ९९ रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको डिभिजनले यसपटक ४९६.२३ प्रतिशतले राजस्व वृद्धि गर्न सफल भएको छ ।

लेखा अधिकृत प्रेमकुमार लिम्बूका अनुसार प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ७३ लाख ५५ हजार ९ सय ७०, बेरुजु फर्छ्यौटबाट ८४ लाख ५० हजार २ सय १३, अन्य राजस्व शीर्षकबाट २५ लाख ३६ हजार ४७ र प्रशासनिक सेवा शुल्कबाट १६ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।

सडक डिभिजनले सम्झौता गरेर पनि काम नगर्ने ४ वटा निर्माण कम्पनीसँग ठेक्का सम्झौता रद्ध गरी धरौटी जफत गरेको छ । मेची राजमार्ग अन्तर्गत बिब्ल्याँटे–राँके सडक मर्मतको जिम्मा लिएको कपिलदेव कन्ट्रक्सन, राँके–फिदिम र बिब्ल्याँटे–माईपोखरी–सन्दकपुर सडक मर्मतको जिम्मा लिएको पिङ्की कन्ट्रक्सन र फिदिम-सुकेटार सडक मर्मतको जिम्मा लिएको तिम्सिना निर्माण सेवासँग ठेक्का सम्झौता रद्ध गरी धरौटी जफत गरिएको डिभिजनले जनाएको छ ।

काम ढिलो गर्ने निर्माण कम्पनीलाई हर्जाना र  सम्झौता अनुसार काम नगर्ने कम्पनीको कार्यसम्पादन जमानत जफतबाट राजस्व वृद्धि भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए । ‘काम ढिलो गर्ने निर्माण कम्पनीलाई हर्जाना लगाइएको छ । सम्झौता अनुसार काम नगर्ने कम्पनीको कार्यसम्पादन जमानत जफतबाट समेत राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको हो,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार