
इलाम : यो तस्बिर हो इलाम नगरपालिका-९ सेरामा रहेको भव्य भवनको । बाहिरबाट हेर्दा यो कुनै ठूलो सरकारी कार्यालय वा गोदाम जस्तो देखिन्छ । तर, नजिक पुग्दा यसको अवस्थाले यहाँको कथा बताउँछ । बहिरी गेटको ढोकामा झुन्डिएको खिया लागेको ताला, भित्र थोत्रा गाडी र तिनका पार्टपुर्जा अनि बरीपरी झार घारी । यो करोडौं रुपैयाँ लगानीमा बनेको शीत भण्डार हो, जसलाई स्थानीयहरूले अब ‘थोत्रा गाडी राख्ने ग्यारेज’ भन्न थालेका छन् ।
२०६६ सालमा जब यसको निर्माण सुरु भयो र २०६८ सालमा निमार्णको काम सकियो, इलामका किसानका आँखामा एउटा नयाँ सपना चम्किएको थियो । ‘अब हामीले आफ्नो उत्पादन सस्तोमा बेच्न पर्दैन,’ उनीहरूले सोचेका थिए । पहाडी भूगोल, उर्वर माटो र नगदे बालीका लागि प्रख्यात इलामका किसानका लागि यो शीत भण्डार एउटा वरदान सावित हुने विश्वास थियो । तर, यतिका वर्ष बितिसक्दा पनि यो सपना वास्तविकतामा परिणत हुन सकेको छैन ।
यो परियोजना कुनै सानोतिनो लगानीको थिएन । भारत सरकारको ४ करोड ३९ लाख, नेपाल सरकारको ६७ लाख ५८ हजार र इलाम नगरपालिकाको ४३ लाख ५ हजार रुपैयाँ गरी ५ करोडभन्दा बढीको लगानीमा यो २ हजार टन क्षमताको शीत भण्डार निर्माण भएको थियो । यसको मुख्य उद्देश्य इलामका किसानले उत्पादन गरेका आलु, अदुवा, स्कुस, टमाटर, फलफूल र अन्य तरकारीलाई लामो समयसम्म भण्डारण गरेर उचित समयमा बजारमा पठाउनु थियो । तर किसानको त्यो सपना अझै अधुरै छ ।
इलाममा कृषि उत्पादन अत्यधिक हुने सिजनमा बजारमा तरकारी र फलफूलको भाउ निकै कम हुन्छ । किसानहरू सस्तो मूल्यमा आफ्नो उत्पादन बेच्न बाध्य हुन्छन् । यही समस्यालाई समाधान गर्न शीत भण्डारको आवश्यकता महसुस गरिएको थियो । तर, निर्माण सम्पन्न भएदेखि नै यो संरचना प्रयोगमा आउन सकेन, जसले गर्दा किसानहरूले आफ्नो बाली अहिले पनि उत्पादन हुनेबित्तिकै सस्तोमा बेच्नुपर्ने बाध्यता छ ।
शीत भण्डार सञ्चालनमा नआउनुको मुख्य प्राविधिक कारण “सिंगल च्याम्बर” हुनु हो । यसको मतलब, यो भण्डारमा एक पटकमा एकै खाले उत्पादन मात्र राख्न मिल्छ । आलुलाई आवश्यक पर्ने तापक्रम र स्याउलाई चाहिने तापक्रम फरक हुन्छ । त्यसैले, फरक-फरक उत्पादन एकै ठाउँमा राख्दा ती बिग्रन सक्छन् । यसलाई ’मल्टिच्याम्बर’ बनाएर फरक तापक्रममा फरक-फरक उत्पादन राख्ने व्यवस्था गर्नुपर्ने आवश्यकता छ, जुन अहिलेसम्म पूरा भएको छैन । प्राबिधिक कारण पनि संचालनमा आउन नस्कनु एक कारण रहेको इलाम नगरपालिकाका सूचना अधिकारी बबुल भक्तराजको भनाई छ । उहाँले भन्नुभयो,“कोल्ड स्टोर अहिले संचालनमा त छैन तर पनि अहिले नगरपालिकाले एक जना चौकीदार राखेर रेखदेख भने गरिरहेको छ । संचालनमा नआएपनि नगरपालिकाको कोल्ड स्टोरकालागि खर्च भने भइरहेको छ ।”
प्राविधिक रूपमा यो कमजोरीले करोडौंको लगानीलाई निष्प्रभावी बनाइदिएको छ । यो शीत भण्डार पूर्व प्रधानमन्त्री झलनाथ खनाल र स्वर्गीय सुवासचन्द्र नेम्वाङको गृह जिल्लामा रहेको छ । स्वर्गीय नेम्वाङको पहलमा यो परियोजना बनेको भए पनि, त्यसपछि यसलाई सञ्चालनमा ल्याउन आवश्यक राजनीतिक इच्छाशक्तिको अभाव भएको पक्कै देखिन्छ ।
किसान र व्यवसायीहरूले आफ्नो पीडा पोख्दै भन्छन्, “नेताहरू भाषण गर्दा विकासको कुरा गर्छन्, तर किसानको वास्तविकता बुझ्दैनन् । यहीँ करोडौंको संरचना कामै नलागी बसेको छ।” अहिले यो शीत भण्डारको हालत यस्तो छ कि यसभित्रका करोडौं मूल्यका उपकरणहरूमा खिया लागिसकेको छ । समयमै मर्मतसम्भार र व्यवस्थापन नहुँदा यो भवन र यसका सबै उपकरणहरू सदाका लागि प्रयोगविहीन बनेसरह भएका छन् ।

उता सन्दकपुर गाँउपालिका बडा नं ३ का किसान देउ कुमार राई आफुले ५० रोपनी क्षेत्रफलमा किवी लगाएर उत्पादन गरिरहेको भए पनि उत्पादन भएको किवी तत्कालै बिक्रि गरिरहनुपरेको बताए । राई भन्छन् ,“उत्पादन गरिएको किवी सिजनमै सबै सक्नुपर्छ अफ सिजनमा बिक्रि गर्न सके मुल्य पनि बढि पाइनेथियो तर कोल्ड स्टोर नभएकाले अफ सिजनमा हामी भारतको किवी महङ्गो मुल्य लगाएर उपभोग गर्न बाध्य छौ, हामी त्यही किवी सिजनमा सस्तोमा बेच्छौ त्यही किवी अफसिजनमा उताबाट महङ्गोमा किन्छौ ”
इलाममा शित भण्डार त छ तर संचालन किन भइरहेको छैन त्यो अझै हामी किसान बेखबर जस्तै छौ । शित भण्डार इलाममै भइदिए इलाममा उत्पादित फलफुल तथा तरकारीले उचित मुल्य पाउने थियो राइले भने ।
शीत भण्डारको अभावमा इलामका किसानहरूले आफ्नो उत्पादन भण्डारण गर्न झापा, विराटनगर वा अन्य ठूला सहरमा लैजानुपर्ने बाध्यता छ । यसले यातायात खर्च बढाउँछ र उत्पादनको गुणस्तर पनि घट्न सक्छ । तरकारी र फलफूल उत्पादन गर्ने किसानहरूले आफ्नो मिहिनेतको फल सस्तोमा बेच्न पर्दा उनीहरूमा निराशा छाएको इलाम नगरपालिका-८ का किसान उमेशचन्द्र महतको भनाई छ । इलामलाई कृषि पर्यटनको गन्तव्य बनाउने र कृषि उत्पादनलाई ब्रान्डिङ गर्ने कुरा चलिरहेका बेला, यो शीत भण्डारको अवस्थाले स्थानीय सरकारको प्राथमिकतामाथि नै प्रश्नचिह्न खडा गरेको छ ।
यता रास्वपा इलाम सभापति टीका ओडारीले किसानकाे लागि सार्है नै लाभदायक यस्ता संरचना जाेसुकै ले खर्च गरेर बनाईए पनि किसान लक्षित गरि प्रयाेगविहिन रहनु भनेकाे, माल पाएर चाल नपाएका स्थानिय प्रतिनिधि हरुकै कारण रहेको बताए । ओडारीका अनुसार तहगत सरकारकाे नेतृत्व लिएर यस्ता कैयै संरचनाहरु प्रयाेगमा ल्याउन नसक्नु भनेकाे कृषि पेशा प्रति आश्रित इलामका तमाम किसान प्रति विगत र हाल सम्म राज्य संचालकहरु किसानका समस्यामा संवेदनशील नभएकाे देखिन्छ ।
करोडौं रुपैयाँ खर्चेर बनाइएको संरचनालाई एउटा थोत्रा गाडी राख्ने ग्यारेजमा परिणत हुन दिनुले देशव्यापी रूपमा सार्वजनिक सम्पत्तिको व्यवस्थापन कति कमजोर छ भन्ने कुराको दुःखद प्रस्तुत गर्दछ । करोडौंको लगानीमा बनेको संरचनाको यस्तो दुरुपयोग देख्दा सर्वसाधारणमा सरकारप्रति निराशा बढ्दै गएको छ । जबसम्म सरकार र सम्बन्धित निकायहरूले पूर्वाधार निर्माणसँगै त्यसको उचित व्यवस्थापन र प्रयोगमा ध्यान दिँदैनन्, तबसम्म यस्ता करोडौंका संरचनाहरू “थोत्रा गाडी राख्ने ग्यारेज”मा परिणत भइरहनेछन् ।
























































