
इलाम : ‘इलामे सहर चियाबारी राम्रो’ यो गीतले भनेजस्तो इलाम चिया बगानको लागि मात्रै होइन धार्मिक क्षेत्र, जातीय संस्कृति, संरचना आदिको हिसाबले पनि निकै सुन्दर छ ।
यहाँको भौगोलिक बनोट, चिया, नगदे बालीले सुधारिएको जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, दृश्यावलोकन क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लोभ्याउने गर्दछ ।
नेपालको पहिलो इलामको चिया बगान, काठैकाठको संरचना भएको इलाम सदरमुकाम इलाम बजार, नारायणथान, माईथान, सिंहबाहिनी सेतीदेवीले जोकोहीलाई लोभ्याउन सक्छ । इलाम एक पर्यटकीय हिसाबले भरिपुर्ण क्षेत्र मानिन्छ ।
रमणीय वातावरण, हरियाली चियाबारीसहित होचाथुम्का डाँडाकाँडाले पर्यटकको मन लोभ्याउछ। भौगोलिक बनोट चिया बगान सुधारिएको जीवनशैली, धार्मिक क्षेत्र, जातिय संस्कृति, तालतलैया सिमसार जस्ता ठाउले पर्यटकहरूलाई तान्ने गरेको छ ।
झापाको चारआलीदेखि इलाम आउदा धेरै घुमाउरो बाटोको यात्रा गर्नु पर्दछ । यहाँको चियाबारी, हरियाली वातावरण, साना–ठूला खोला–नाला, पोखरी, मठ–मन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरताले गर्दा पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्ने गरेको छ ।
























































