इलामका विभिन्न स्थानमा वर्षापछि पहिरो, सडक अवरुद्ध र घर क्षति

  नयाँ बुलन्द
413 Shares

इलाम : अबिरल वर्षापछि इलामका विभिन्न स्थानमा पहिरो खस्दा भित्री सडक अवरुद्ध हुनुका साथै घर क्षति र मानिस घाइते भएका छन् ।

फाकफोकथुम गाउँपालिका–१, पञ्चेवा स्थित आमचोकदेखि घुरमिसे–पञ्चमी हुँदै राँके–इलाम आउँने भित्री कच्ची सडक खण्डमा बुधबार बिहान करिब साढे ७ बजे लेदो सहितको पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरी चौकी आमचोकबाट खटिएको टोलीले सडक खुलाउने कार्यका लागि आवश्यक समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

यसैगरी, गएराति वर्षाका कारण माई नगरपालिका–९, सोक्तिमस्थित इलाम–बिर्तामोड भित्री सडक खण्डमा रुख सहितको पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । प्रहरी चौकी चिसापानीबाट प्रहरी निरीक्षक बुद्धि कटुवालको कमाण्डमा टोली खटिएको र अवरोध हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

दक्षिणतर्फको अर्को घटनामा, सुर्योदय नगरपालिका–५, समालबुङमा वर्षाले सडकको आधा भाग भासिएको छ । सोही ठाउँमा डेरा गरी बस्ने ३५ वर्षीया भावना सुब्बा र उनकी १४ वर्षीया छोरी अनुस्का सुब्बा सामान्य घाइते भएका छन् । उपचारपछि उनीहरूलाई बिहान ७ बजे जिल्ला अस्पताल इलामबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

इलाम नगरपालिका–११, सोयाङस्थित गोलाखर्क–केचना कञ्चनजङ्गा फास्ट ट्र्याक सडक खण्डमा पनि गएराति पहिरो खसेको छ । प्रहरी चौकी गोलाखर्कबाट अवरोध हटाउन समन्वय भइसकेको छ ।

त्यसैगरी, सुर्योदय नगरपालिका–६, हर्कटेमा केशर कटुवालको घरमाथिबाट पहिरो खसेको छ। मानवीय वा पशु क्षति नभए पनि प्रहरी टोली खटिएको प्रहरीको भनाइ छ ।

बिहान करिब ४ बजे इलाम नगरपालिका–९, गोलबस्तीमा राकेश थापा मगरको जिर्ण टिनछानो र इटा-माटोले बनेको दुई तले घर वर्षाको कारण भत्किँदा एक जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक राईका अनुसार सबै स्थानमा प्रहरी टोली परिचालन गरी अवरोध हटाउने, जोखिम न्यूनीकरण गर्ने र प्रभावितहरूको सहयोगका लागि आवश्यक समन्वय भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार