
काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आधिकारिक अध्यक्ष रञ्जिता श्रेष्ठ नै रहने भएकी छन् ।
पार्टीका संरक्षक रेशम चौधरीले केही समयअघि राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए । तर, चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि नाउपा अध्यक्ष रन्जिता नै रहने भएकी हुन् ।
मंगलबार निर्वाचन आयोगले गरेको निर्णयमा लालवीर चौधरीलाई अध्यक्षका रूपमा मान्यता नदिएको हो । यससँगै स्वतः रञ्जिता नै अध्यक्ष रहने स्थिति बनेको छ ।
स्रोतका अनुसार मंगबार राति आयोगले यस्तो निर्णय गरेको हो । तर, निर्वाचन आयोगको पत्र भने नाउपाले पाएको छैन । सम्भवतः आजै पत्र पाउन स्रोतले बताएको छ ।
यसअघि रेशम चौधरीले बहुमत सदस्यको केन्द्रीय समिति बैठक बोलाएर रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाएका थिए । त्यसपछि लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाएर निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाइएको थियो ।
























































