
इलाम : इलाममा आर्थिक वर्ष २०८१/०८२ मा एक अर्ब ९४ करोडभन्दा बढी बजेट फ्रिज भएको छ । जिल्लामा संघीय र प्रदेश सरकारबाट प्राप्त भएको पूँजीगत र चालुतर्फको बजेटमध्ये एक अर्ब ९४ करोड पाँच लाख १५ हजार दुई सय ५६ रुपैयाँ फ्रिज भएको छ ।
इलामममा संघीय र प्रदेश सरकारको पुँजीगत र चालुतर्फको विनियोजित १२ अर्ब ३८ करोड आठ लाख ८६ हजार दुई सय ८३ मध्ये एक अर्ब ९४ करोड पाँच लाख १५ हजार दुई सय ५६ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय इलामले जनाएको छ ।
सो अवधिमा अघिल्लो आर्थिक वर्ष ०८०/०८१ मा पुँजीगत र चालुतर्फको विनियोजित ११ अर्ब ४३ करोड ८५ लाख ६८ हजार दुई सय ८९ मध्ये एक अर्ब ३३ करोड ५६ लाख ४३ हजार चार सय १९ फ्रिज भएको थियो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकारको चालुतर्फ विनियोजित सात अर्ब ३८ करोड ९३ लाख ११ हजार पाँच सय ६७ मध्ये ५३ करोड १६ लाख २४ हजार तीन सय ६७ फ्रिज भएको छ । त्यस्तै, पूँजीगततर्फ विनियोजित तीन अर्ब १६ करोड एक लाख ८६ हजार सात सय ३३ मध्ये ९३ करोड २८ लाख ३१ हजार छ सय ३० रुपैयाँ फ्रिज भएको छ ।
त्यसैगरी प्रदेश सरकारको चालुतर्फ विनियोजित ८६ करोड ७३ लाख ५३ हजार दुईमध्ये १४ करोड ३७ लाख ७२ हजार सात सय सात फ्रिज भएको छ । त्यस्तै, पूँजीगततर्फ विनियोजित ९६ करोड ४० लाख ३४ हजार नौ सय ८१ मध्ये २२ करोड २२ लाख ८६ हजार पाँच सय ५२ रुपैयाँ फ्रिज भएको प्रमुख कोष लेखा नियन्त्रक राजेन्द्र आचार्यले जानकारी दिए ।
१.७६ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि
यसैबीच, इलाममा अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष ०८१÷०८२ मा राजस्व सङ्कलन १ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ०८१/०८२ मा संघ र प्रदेश सरकारका कार्यालयहरुमार्फत एक अर्ब तीन करोड ५४ लाख २७ हजार आठ सय ८७ रुपैयाँ राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
अघिल्लो वर्ष एक अर्ब एक करोड ७४ लाख ८६ हजार चार सय ७४ रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख कोष लेखा नियन्त्रक आचार्यले जानकारी दिए । यो अघिल्लो आर्थिक वर्ष ०८०/०८१ को तुलनामा एक करोड ७९ लाख ४१ हजार चार सय १३ रुपैयाँले बढी हो ।
आर्थिक वर्ष ०८१/०८२ मा संघ सरकारका कार्यालयहरुमार्फत मात्रै ८४ करोड ८२ लाख ७६ हजार चार सय सात रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । तीमध्ये सबैभन्दा बढी करदाता सेवा कार्यालयमार्फत ६४ करोड ७६ लाख २५ हजार नौ सय २२ रुपैयाँ राजस्व सङ्कलन गरिएको आचार्यले जानकारी दिए ।
त्यसैगरी कोष तथा लेखा नियन्त्रक कार्यालयबाट आठ करोड ५९ लाख १४ हजार छ सय ७१, जिल्ला प्रशासन कार्यालयबाट चार करोड २१ लाख ७८ हजार छ सय ४०, पशुपति भन्सार कार्यालयबाट दुई करोड ६१ लाख ५९ हजार चार सय ९३ र सडक डिभिजन कार्यालयबाट दुई करोड दुई हजार दुई सय तीस रुपैयाँ राजस्व सङ्कलन भएको छ । अन्य कार्यालयहरुबाट पनि आआफ्नो क्षेत्रअनुसार राजस्व सङ्कलन भएको बताइएको छ । अघिल्लो आर्थिक वर्षमा संघ सरकारका कार्यालयमार्फत ८७ करोड ३६ लाख तीन सय ४० रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुले सोही अवधिमा १८ करोड ७१ लाख ५१ हजार दुई सय ८० राजस्व सङ्कलन गरेका छन् । प्रदेश स्तरमा यातायात व्यवस्था सेवा कार्यालयले सबैभन्दा बढी १३ करोड ४४ लाख १७ हजार नौ सय २७ राजस्व सङ्कलन गरेको छ ।
त्यसपछि डिभिजन वन कार्यालयबाट तीन करोड १४ लाख ८७ हजार चार सय ३१ र घरेलु तथा साना उद्योग कार्यालयबाट रु ५४ लाख ७३ हजार चार सय ५० राजस्व सङ्कलन भएको छ । अन्य कार्यालयहरुबाट पनि आआफ्नो क्षेत्रअनुसार राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारका कार्यालयमार्फत १४ करोड ३८ लाख ८६ हजार एक सय ३४ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
प्रमुख कोष लेखा नियन्त्रक आचार्यका अनुसार संघ सरकारका कार्यालयहरुबाट राजस्व सङ्कलनमा केही कमी आएपनि प्रदेश सरकारका कार्यालयबाट राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको छ । उहाँले राज्यले करको दायरा विस्तार गर्नुका साथै सेवाग्राहीलाई कर तिर्न प्रेरित गर्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
गत आर्थिक वर्षमा स्थानीय तहहरुले खर्च गर्न नसकेका शसर्त, समपूरक र विशेष अनुदानका रकमहरु समयमै फिर्ता गरेको थिए ।
























































