इलामको सानो पसलबाट सुरू भएर १४ अर्बको साम्राज्य

  नयाँ बुलन्द
217 Shares

फ्याक्ट्री भनेको मेसिन मात्र होइन, त्योसँग जोडिएको हुन्छ मान्छेको सपना। फ्याक्ट्रीमा मेसिनका पाटपुर्जा मात्र दौडिँदैनन्, सँगसँगै दौडिरहेका हुन्छन् एउटा परिवारको वर्तमान र भविष्य।

फ्याक्ट्रीमा कच्चा पदार्थ मात्र खारिँदैन; सँगसँगै खारिन्छ मान्छेको अनुभव, उसको दृष्टिकोण। फ्याक्ट्रीमा सामान मात्र बन्दैन, सँगसँगै बन्छन् अनगिन्ती कथाहरू — संघर्षको कथा, सपनाको कथा; आँशुको कथा, हाँसोको कथा। र, हरेक पुस्तासँगै फेरिने दृष्टिकोण र परिकल्पनाको कथा यस्तै एक–एक कथा गाँसिएर, तीन पुस्ताको अनुभवले खारिएर बनेको छ — पञ्चकन्या ग्रुप।

यो कथा आजभन्दा ५० वर्षअघि प्रेमबहादुर श्रेष्ठले नीब राखेको औद्योगिक समूहको हो।

Ncell

२००७ सालको क्रान्तिमा सहभागी प्रेमबहादुरलाई प्रजातन्त्र स्थापनापछि जागिरको प्रस्ताव आएको थियो। त्यो बेला उनका धेरै साथी सरकारी जागिर खान गएका थिए।प्रेमबहादुरले भने तुरून्तै प्रस्ताव स्वीकार गरेनन्। निर्णय लिन एक दिनको समय मागे।भोलिपल्ट गएर जबाफ दिए, ‘मलाई सरकारी जागिर खानु छैन।’आजभन्दा ७५ वर्षअघिको समय कालमा प्रेमबहादुरको त्यस्तो जबाफले धेरैलाई अचम्म पार्‍यो। धेरैले उनलाई ‘मूर्ख’ ठाने।

प्रेमबहादुर भने आफूलाई दुरदर्शी मान्छन्। ‘मेरो पढाइ–लेखाइ थिएन। सरकारी जागिर खाएको भए म अगाडि बढ्न सक्दिनथेँ। सानो पदमा जागिर सुरू गरेर सानो पदमै अन्त्य हुन्थ्यो,’ उनले भने, ‘त्यसको कमाइले मलाई आफ्नो र परिवारको गुजारा चलाउन गाह्रै पर्थ्यो।’

सरकारी जागिरमा भविष्य नदेखेका उनले आफ्नो र परिवारको भविष्य देखे — व्यवसायमा।उनले गाउँले साथीभाइ र परिवारकै सदस्यहरूको खिसिट्युरी सहँदै इलामको फिक्कलमा किराना पसल थापे। पछि झापाको शनिश्चरे झरे र त्यहाँ पनि पसल सुरू गरे। ठेक्कापट्टा पनि गरे। यही पसल विस्तार गर्दै उनले धान–चामल मिल र काठ मिल चलाए।

तर उनको व्यवसाय विस्तारको रनाहा यतिमै टुंगिएन। उनी नयाँ अवसर खोज्दै काठमाडौं आए। त्यसबीच भैरहवामा तीन–चार बिघा जग्गा किनेका थिए। त्यही जग्गामा प्लास्टिक र स्टिल कारखाना स्थापना गरेर औद्योगिक यात्राको सुरूआत गरे।

‘मान्छेले जति धेरै पानी थाप्ने हो, त्यति नै ठूलो भाँडा बोक्नुपर्छ। सानो भाँडा बोकेर धेरै पानी थाप्न सकिँदैन। धेरै पानी थाप्न भाँडा पनि ठूलै चाहिन्छ,’ ९४ वर्षका प्रेमबहादुरले हालैको एक दिन ललितपुरको झम्सिखेलस्थित आफ्नो घरमा सेतोपाटीसँग कुरा गर्दै भने, ‘भाँडा मात्र ठूलो भएर पनि पुग्दैन। धेरै पानी थाप्ने इच्छा छ भने ठूलो मुहानमा जानुपर्छ।’

Panchakanya4-1754911319.jpeg
पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ। तस्बिर: सेतोपाटी

इलामबाट झापा र झापाबाट काठमाडौंको यात्रालाई उनी त्यही ठूलो मुहानको खोजीका रूपमा लिन्छन्।

‘इलाममा मैले किराना पसल थापेर सुरूआत त गरेँ, तर त्यतिले मलाई अगाडि बढ्न दिँदैनथ्यो। मलाई अगाडि बढ्न त्योभन्दा ठूलो मुहान चाहिन्थ्यो। त्यही भएर म त्यो समयका लागि इलामभन्दा धेरै अवसर भएको झापा झरेँ।’

प्रेमबहादुरले अगाडि भने, ‘झापामा धान–चामल र काठ मिल सञ्चालनले मलाई पहिलेभन्दा माथि त पुर्‍यायो, तर त्यतिले मेरो मन शान्त भएन। म अझ अगाडि बढ्न चाहन्थेँ। त्यसको निम्ति मलाई झापा पनि सानो लाग्यो। म अझै ठूलो मुहान खोज्दै काठमाडौं आएँ।’

उनी व्यावसायिक क्षेत्रमा अगाडि बढ्न ठूलो मुहान खोज्दै काठमाडौं मात्र आएनन्, धेरै पानी थाप्न ठूलो भाँडा चाहिन्छ भन्ने दर्शन पछ्याउँदै आफ्ना छोराहरूलाई काबिल बनाउन उत्तिकै जोड दिए।

उनको मनमा यो दर्शनले कति गहिरो छाप पारेको थियो भने, उनले आफ्ना तीनै जना छोरालाई दार्जिलिङको हर्मन स्कुलमा पढ्न पठाए।

दार्जिलिङ पढ्न जाने परम्पराले तेस्रो पुस्तासम्म निरन्तरता पाइरहेको छ। उनका नातिहरूले पनि दार्जिलिङको त्यही स्कुलमा पढेका हुन्।

नभन्दै दार्जिलिङ पढेर फर्किएका जेठा र माइला छोराहरू ध्रुवकुमार र प्रदीपकुमारले बाबुले सुरू गरेको व्यवसाय अगाडि बढाउन कुनै कसर छाडेनन्। ध्रुवकुमार २४ वर्ष उमेरदेखि भैरहवा बसेर कारखाना स्थापनामा लागे। प्रदीपकुमार काठमाडौंमै बसेर बजार विस्तारमा केन्द्रित भए।

Panchakanya2-1754910969.jpeg
पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी

भैरहवास्थित पञ्चकन्या ग्रुपको कारखानाका एक–एक इँटामा ध्रुवकुमारको पसिना बगेको छ।

जब पञ्चकन्या समूह औद्योगिक क्षेत्रमा आफ्नो जग बसाल्दै थियो, ध्रुवकुमारले भैरहवालाई नै आफ्नो मुकाम बनाए। एकपछि अर्को कारखाना खडा गरे, कम्पनीको विस्तारमा अग्रणी भूमिका खेले।

आज ६८ वर्ष पुगिसक्दा पनि उनको मन कारखाना परिसरमै रमाउँछ। यहाँको शोरशराबा र निरन्तर दौडिरहने मेसिनका पाटपुर्जासँगै उनी पनि दौडिरहेका हुन्छन्।

आज यो ग्रुपको बागडोर सम्हाल्न तेस्रो पुस्ता तयार भइसकेको छ। ध्रुवकुमारका जेठा छोरा तथा कम्पनीका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ पञ्चकन्या ग्रुपमा तेस्रो पिँढीको प्रतिनिधित्व गर्छन्। प्रदीपकुमारका दुई छोरा उदीप र आशिकले पनि पारिवारिक व्यवसाय सम्हाल्न थालिसकेका छन्।

यसरी हजुरबुबा प्रेमबहादुरले जग राखेको र ५० वर्षभन्दा लामो इतिहास बोकेको यो औद्योगिक समूहको वर्तमान र भविष्य तेस्रो पुस्ताका उज्ज्वल र उनका भाइहरूको हातमा छ। इलामको सानो पसलबाट सुरू भएको पञ्चकन्या ग्रुप १४ अर्ब रूपैयाँको औद्योगिक साम्राज्य बनेको छ।

पञ्चकन्याले स्टिलदेखि प्लास्टिक, पानी ट्यांकीदेखि बाथ–वेयर गरी घरको जगदेखि छतसम्मलाई चाहिने सबै किसिमका सामग्री उत्पादन गर्छ। यति बृहत् दायरामा फैलिएको कम्पनीको वर्तमान र भविष्य बुझ्न हामीले यसको अतीत चिन्नुपर्छ।

प्रेमबहादुरले इलामको फिक्कलबाट सुरू गरेको यो समूह संघर्षका के–कस्ता चरण पार गरेर यहाँसम्म आइपुग्यो?

हामीले सेतोपाटीको यो भिडिओ शृंखला ‘द फ्याक्ट्री’ मा पञ्चकन्या ग्रुपलाई शून्यबाट अर्बको कम्पनी बनाउन तीन पुस्ताले गरेको संघर्षको कथा समेटेका छौं। यसको निम्ति कम्पनीको नीब राख्ने प्रेमबहादुरसँग कुरा गरेका छौं। २४ वर्ष उमेरदेखि आजसम्म भैरहवामै बसेर कारखाना सञ्चालनमा रमाइरहेका ध्रुवकुमारसँग कुरा गरेका छौं। र, तेस्रो पुस्ताको प्रतिनिधित्व गर्दै समूहलाई अगाडि बढाउने जिम्मेवारी सम्हालेका उज्ज्वलकुमारसँग कुरा गरेका छौं।

नयाँ पिँढीका सदस्य उज्ज्वलकुमारले हामीलाई फ्याक्ट्री ‘टूर’ मा पनि लगेका छन्। उनले पञ्चकन्या ग्रुपको जग बसाल्न महत्त्वपूर्ण भूमिका खेलेका स्टिल र प्लास्टिक उद्योग घुमाएका छन्। काठमाडौंको थानकोटस्थित रेडिमेड कंक्रिट उद्योग पनि देखाएका छन्। यो त्यही उद्योग हो, जसबाट उज्ज्वलको करिअर सुरू भयो।

हुन त उनी सानो मार्केटिङ टिममा सहभागी भएर पारिवारिक व्यवसायमा प्रवेश गरेका हुन्। तर व्यवस्थापनको जिम्मेवारी रेडिमेड कंक्रिट उद्योगबाटै सुरू भएको उनी बताउँछन्।

त्यति बेला यो उद्योग निरन्तर घाटामा थियो। सबैले यसलाई नाफामा ल्याउन सकिन्छ भन्ने आस मारिसकेका थिए। उज्ज्वलले भने आफ्ना बुबा ध्रुवकुमार र काका प्रदीपकुमारसँग कुरा गरे र यो उद्योगको जिम्मेवारी आफूलाई दिन प्रस्ताव राखे।

उनको प्रस्ताव स्वीकृत भयो। कम्पनीले केही रकम ऋण पनि दियो।

नभन्दै एक वर्षभन्दा कम समयमा उनले यो उद्योगलाई नाफामा लगेर देखाइदिए। त्यो घटनालाई उनी आज पनि आफ्नो करिअरको ‘टर्निङ प्वाइन्ट’ मान्छन्।

‘त्यसपछि मेरो परिवारले मेरो कामप्रति विश्वास देखाउन थाल्यो। मेरो टिमले पनि मप्रति भरोसा राख्यो,’ उज्ज्वलले भने।

Panchakanya-1754910968.jpeg
पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी

फ्याक्ट्री टूरकै क्रममा उनले पञ्चकन्या ग्रुपलाई घर–घरको ब्रान्ड बनाउन ठूलो भूमिका खेलेको स्टेनलेस स्टिल वाटर ट्यांक उद्योग पनि हामीलाई घुमाए।

यो उद्योग सुरू हुनुअघि घर–घरको छतमा कालो र हरियो रङको प्लास्टिक ट्यांकी मात्र देखिन्थ्यो। पञ्चकन्याले स्टिल ट्यांकी ल्याएपछि अहिले धेरै घरको छतको मुहार फेरिएको छ।

पानीको गुणस्तरका दृष्टिले र ट्यांकी सफा गर्न सजिलो हुने भएकाले यो उत्पादन धेरै उपभोक्ताले रूचाएको उज्ज्वल बताउँछन्।

आखिरीमा उज्ज्वलले पञ्चकन्या ग्रुपको सबभन्दा कान्छो उद्योग डिमेक्स पिभिसी झ्याल–ढोका उद्योगको टूर गराए। यो पञ्चकन्याले संयुक्त लगानीमा खोलेको पहिलो उद्योग हो।

यी पाँच उद्योगको ‘टूर’ क्रममा उज्ज्वलले ती सबैको उत्पादन क्षमता, बजार र कम्पनीको साख उकास्न यसले खेलेको भूमिकाको चर्चा गरेका छन्।

यो भिडिओमा हामीले पहिलो र दोस्रो पुस्ताका प्रतिनिधिलाई एउटा प्रश्न सोधेका छौं – नयाँ पुस्ताको काँधले पञ्चकन्याको विरासत धान्न सक्छ?

उनीहरूको जबाफ रोचक छ। setopati

हेर्नुहोस्, नेपालको एक सफल र प्रतिष्ठित औद्योगिक समूह पञ्चकन्या ग्रुपको ५० वर्षभन्दा लामो संघर्षको कथा, सेतोपाटीको भिडिओ शृंखला ‘द फ्याक्ट्री’ मा —

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार