खाद्यान्नमा कोसी प्रदेश आत्मनिर्भर

 

विराटनगर । कोसी प्रदेश खाद्यान्नमा आत्मनिर्भर बनेको छ । १ व्यक्तिको १९१ केजी खाद्यान्न आवश्यकतालाई पूरा गरेर कोसी प्रदेश खाद्यान्नमा आत्मनिर्भर बनेको हो । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा २ लाख ७५ हजार २६७ हेक्टर जग्गामा कुल ११ लाख ८२ हजार २२१ मेट्रिक टन वर्षे धानबाली उत्पादन भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार प्रदेशमा कुल ७ लाख १३ हजार ३३३ हेक्टर जग्गा खेतीयोग्य छ ।

सिँचाइको अभाव र आकाशे पानीको निर्भरताले सबै जग्गामा बाली लगाउन किसान सकिरहेका छैनन् । ४ दशमलव २९ मेट्रिक टन उत्पादकत्व रहेको धानबाली अघिल्लो वर्षको तुलनामा १ दशमलव ९७ प्रतिशत बढी क्षेत्रमा धान बढी लगाइएको थियो भने उत्पादन पनि ३ दशमलव १९ प्रतिशत बढी भएको हो ।

निर्देशनालयका अनुसार सो अवधिमा ४३ हजार ८६८ हेक्टर जग्गामा चैते धान २ लाख ३८ हजार ३०८ मेट्रिक टन, मकै २ लाख ७७ हजार १६६ हेक्टर जग्गामा ११ लाख ६६ हजार १४८ मेट्रिक टन, कोदो ५७ हजार २७४ हेक्टर जग्गामा ८५ हजार ९७२ मेट्रिक टन, गहुँ ५१ हजार ६३५ हेक्टर जग्गामा १ लाख ३७ हजार ७३० मेट्रिक टन, फापर २ हजार ८९६ हेक्टर जग्गामा ४ हजार ७७५ मेट्रिक टन र जौ ९८६ हेक्टर जग्गामा १ हजार २८५ मेट्रिक टन उत्पादन भएको हो ।

सो अवधिमा सुन्तला ८ हजार १०७ हेक्टर जग्गामा ६४ हजार ८२४ मेट्रिक टन र हिउँदे फलफूल २ हजार ८७३ हेक्टर जग्गामा २१ हजार ४४ मेट्रिक टन उत्पादन भएको थियो । सुन्तलाको उत्पादकत्व ८ मेट्रिक टन र हिउँदे फलफूलको उत्पादकत्व ७ दशमलव ३२ मेट्रिक टन रहेको निर्देशनलायको भनाइ छ ।

प्रदेशमा आव २०८१/०८२ मा दलहन बाली ३५ हजार १३२ हेक्टर जग्गामा ४० हजार ९३७ मेट्रिक टन र तेलहन बाली ४१ हजार ६८१ हेक्टर जग्गामा ५१ हजार ५१५ मेट्रिक टन उत्पादन भएको निर्देशनालयका निर्देशक प्रकाशकुमार डाँगीले जानकारी दिए । उनका अनुसार आलु ६६ हजार ३९९ हेक्टर जग्गामा १० लाख ८७ हजार ४११ मेट्रिक टन, अलैँची १४ हजार १९१ हेक्टर जग्गामा ७ हजार १५० मेट्रिक टन, उखु ५ हजार ९३२ हेक्टर जग्गामा ३ लाख ४२ हजार २८५ मेट्रिक टन, च्याउ ६ हजार १२१ मेट्रिक टन उत्पादन भएको हो ।

उनले आलु र उखुको उत्पादन बढे पनि अलैँचीको उत्पादन ५ दशमलव ७ प्रतिशतले कमी भएको जानकारी दिँदै सरदर प्रदेशमा १ व्यक्ति १९१ केजी खाद्यान्न आवश्यकतालाई पूरा गरेर सो अवधिमा ६ लाख ९७ हजार ३५५ मेट्रिक टन बचत भई खाद्यान्नमा आत्मनिर्भर भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार