नेताको महत्त्वाकांक्षामा बनेको इलामको फाल्गुन्नद सुकिलुम्बा विमानस्थल अलपत्र

 स्थानीय निराश, करोडौंको लगानी जोखिममा

  प्रकाश नेपाल
609 Shares

 

ड्रोन बाट लिइएको फाल्गुन्नद सुकिलुम्बा बिमानस्थलको दृश्य ।

इलाम :  मुलुकको एउटा पुरानो राजनीतिक केन्द्रका रूपमा चिनिएको इलाम । जहाँबाट देशले ठूला नेताहरू जन्मायो । तिनै नेताहरूले इलामको मुहार फेर्ने भन्दै अनेक महत्त्वाकांक्षी योजना अघि सारे । तर कुनै समय देशलाई प्रभावशाली नेताहरू दिने इलाम, अहिले एउटा अधुरो सपनाको साक्षी बनेर उभिएको छ । त्यो सपना हो, इलाम नगरपालिका वडा नं ९ सुकिलुम्बास्थित फाल्गुन्नद सुकिलुम्बा विमानस्थल । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख स्वर्गीय सुवासचन्द्र नेम्वाङ, कांग्रेस नेता कुलबहादुर गुरुङ र पूर्वसांसद केशव थापा जस्ता नेताहरूको साझा महत्त्वाकांक्षाबाट सुरु भएको यो परियोजना, आज निराशा र अनिश्चितताको प्रतीक बनेर खडा भएको छ ।

निक्कै तामझामका साथ उद्घाटन गरिए पनि नियमित उडान नहुँदा विमानस्थलको अवस्था जीर्ण बन्दै गएको छ, जसले स्थानीयको मनमा एउटा गम्भीर प्रश्न उब्जाएको छः के नेताका सपनाहरू केवल चुनावी नाराका लागि मात्रै हुन ?

२०६७ सालमा शिलान्यास भएपछि सुरु भएको थियो विमानस्थलको काम । तर, यसको निर्माण प्रक्रिया त्यति सहज थिएन । बजेटको अभावले वर्षौंसम्म काम सुस्त गतिमा चल्यो । यस्तो अवस्थामा परियोजनालाई अगाडि बढाउन स्थानीय जनताले ठूलो त्याग गरे ।

विमानस्थलका लागि आवश्यक जग्गाको ठूलो हिस्सा स्थानीयवासीले उपलब्ध गराए । कसैले १ रोपनी त कसैले ४२ रोपनीसम्म आफ्नो पुख्र्यौली जग्गा सरकारलाई दिए । यसका साथै, तत्कालीन जिल्ला विकास समिति, इलाम नगरपालिका र सबै गाविसबाट समेत रकम उठाइयो । जिल्लाबासीबाट प्रतिव्यक्ति १ हजारदेखि २० हजार रुपैयाँसम्म चन्दासमेत संकलन गरिएको थियो । यसरी स्थानीयस्तरबाट मात्रै करिब ४ करोड रुपैयाँसहित अहिलेसम्म विमानस्थलमा २८ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । ३१ घरपरिवारलाई जग्गाको मुआब्जाबापत २ करोड २६ लाख रुपैयाँ खर्च भएको देखिन्छ । यो लगानी केवल सरकारी पैसा मात्र नभएर स्थानीय जनताको पसिना र सपनाको पनि प्रतीक हो ।

कच्ची धावनमार्गमा तारा एयरको बिमान पहिलोपटक फाल्गुन्नद सुकिलुम्बा बिमानस्थलमा अवतरण गरेको दृश्य ।

उद्घाटनको चमक र अहिलेको सन्नाटा

२०७५ जेठ २१ गतेको दिन इलामवासीका लागि एउटा ऐतिहासिक क्षण थियो । तारा एयरको ट्वीनअटर जहाजले इलामको आकासमा फन्को मार्दै सफल परीक्षण उडान गर्दा विमानस्थलमा हजारौं मानिसको भीड लागेको थियो । काठमाडौंबाट १ घण्टा २ मिनेटको उडानमा जहाज सुकिलुम्बामा अवतरण हुँदा इलामले विकासको एउटा नयाँ ढोका खुलेको महसुस गरेको थियो । यो विमानस्थलमा तारा एयरको ट्विनअटर जाहाजले कच्ची धावनमार्गमा पहिलोपटक परीक्षण उडान गरेको थियो भने दोस्रो पटक २०७८ साल माघ २६ गते नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले परीक्षण उडान सफल भएपछि स्थानीयहरू खुसी भएका थिए ।

त्यतिबेला नेताहरूले यसको जस लिने होडबाजी नै चलाए । ठूला–ठूला भाषण भए । तर, त्यो उत्साह र भीडभाड अहिले पूर्ण रूपमा सन्नाटामा परिणत भएको छ । नियमित उडान नहुँदा इलामका बासिन्दाहरू अझै पनि हवाई यात्राका लागि झापाको भद्रपुर वा विराटनगरको विमानस्थल धाउन बाध्य छन् ।

धावनमार्ग कालोपत्रे भएपछि नेपाल एयरलाईन्सको बिमान फाल्गुन्नद सुकिलुम्बा बिमानस्थलमा अवतरण गरेको दृश्य ।

अधुरा संरचना, अधुरो सपना

विमानस्थलको धावनमार्ग र केही प्राथमिक संरचनाहरू बने पनि धेरै महत्त्वपूर्ण कामहरू अझै बाँकी छन् । ३ सय २८ रोपनीमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा नै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो । विमानस्थल बनाउने प्रक्रिया थालेको दश वर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालियो । निर्माण थालेको दश वर्षपछि २०७८ मा मात्रै विमानस्थलको धावनमार्ग निर्माण पूरा भएको हो । बिमानस्थलमा अझ स्थायी टर्मिनल भवन बन्न बाँकी छ, बिमानस्थल सम्म पुग्ने पक्की सडक लगायतका संरचना निमार्ण गर्न बाकी नै रहेको छ । विमानस्थलको ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग भने कालोपत्रे भएको छ । बिमानस्थल सुरक्षाका लागि तारबार भए पनि अझै अपुरै छ । यी अधुरा संरचनाहरूले विमानस्थलको भविष्यमाथि प्रश्नचिह्न खडा गरेका छन् ।

विमानस्थलकोे अहिलेको अवस्थाले इलामे नागरीकलाई यो प्रश्न सोच्न बाध्य बनाएको छ कि, नेताहरूको दूरदृष्टि र जनताको ठूलो लगानीमा सुरु भएको यो परियोजनाको भविष्य के होला ? के सरकारले स्थानीयको लगानी र सपनालाई पूरा गर्ला ? कि यो विमानस्थल पनि देशका अन्य अलपत्र परियोजनाहरू जस्तै इतिहासको पानामा मात्र सीमित रहनेछ ? यो प्रश्नको उत्तर न त सरकारसँग छ, न त यो परियोजनाको निर्माणमा सक्रिय भूमिका खेल्ने नेताहरूसँग नै ।

बिमानस्थल बाट इलामे निरास

इलाम नगरपालिका वडा नं ९ का वडा अध्यक्ष गोपाल चौहान भने बिमानस्थल नियमित संचालन हुनुपर्नेमा जोड दिनुहुन्छ । नगरपालिकाले पटक पटक कार्यपालिकामा कुरा उठाएर बिमानस्थल संचालनका लागि पहल गरेपनि नगरको मात्र एकल पहलले समभव नभएको बताउनुहुन्छ । उहाँले कहिले बिमान बिग्रिएको त कहिले मौसमको कारण देखाउदै इलाममा बिमानस्थल नियमित संचालनको दिर्घकालिन समस्या समाधान हुन नसकिरहेको बताउनुभयो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पाटी इलामका सभापती टिका ओडारी कुनै पनि पुर्वाधार निर्माणमा राज्यको लगानी हुँदै गर्दा त्यसको दिर्घकालिन महत्व रहनुपर्ने र ती पुर्वाधारहरु स्थानिय नागरिकका लागि स्थायी रुपमा प्रत्यक्ष लाभ र उपभोग्य हुनुपर्ने तर्क राख्नुहुन्छ । ओडारीका अनुसार कोही राजनीतिज्ञको व्यक्तिगत लहडमा, कुनै सर्वपक्षिय छलफल विना यी र यस्ता खालका पुर्वाधार निर्माण गर्नु भनेको नागरिक प्रतिको बैईमानी हो भने राज्य स्रोतको सरासर दोहन हो र देशको कुनै पनि ठाउँमा हुने यस्ता भविष्य नहेरि गरिएका लगाानिको सोधभर्ना तिनै असक्षम राजनीतिज्ञबाट गरिनुपर्दछ ।

ओडारी भन्नुहुन्छ ,“ म २०७० सालमा होटल एसोशिएसन इलामको अध्यक्ष हुँदै गर्दा नै यो बिमानस्थलकोे उचित उपयोग हुदैन, बरु अहिले बन्दै गरेको बेलासेको सडक १२ वर्ष अगि नै त्यहि बेलामा बनाउनु पर्दछ भनेर कराउने मान्छे मै हो, तर त्यो बेला मेरो आवाज सुन्ने कोही भएन अहिले मैले भने जस्तै प्रतिफल देखिदैछ ।”

उता नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाश भट्टराई इलाम बाट नेपाल एयरलाईन्सले हप्ताको २ पटक नियमित उडान गर्ने भनी हल्ला गरे पनि अहिले टिकट काट्ने काउन्टर मात्र रहेको र उडान शुन्य रहेको बताउनुहुन्छ । भट्टराई भन्नुहुन्छ,“ उडान नियमित गर्न सकेको भए पाँचथर सहित भारतको दार्जिलिङ्ग सिक्किमदेखिका यात्रु झापाको चन्द्रगढी विमानस्थल पुग्नु पर्नेथिएन, अहिलेको अवस्थामा राज्यको करोडौं रकम बालुवामा पानी नै हालेको महसुस भएको छ । त्यतिबेला हाम्रा नेताहरू मञ्चमा आएर ठूलो गफ गरे । उद्घाटनको बेला ठूलो भीड भयो, तर अहिले बिर्सिएजस्तो लाग्छ।”

यता एमाले इलाम नगरकमिटी उपसचिव प्रकाश घिमिरे बिमानस्थलको ठाँउमा मेडिकल कलेज संचालन गर्नुपर्ने तर्क दिनुहुन्छ । उहाँ भन्नुहुन्छ,“करोडौ लगानी गरेर पनि योजनाले पुर्णता पाउन नसक्नु र योजना सफल नहुनुले इलामे नागरीकलाई दुखि बनाएको बताउनुहुन्छ । इलाममा बिमानस्थल सफल नभएको तर्क दिदै बरु इलाम बाट झापा सम्म पुग्ने मेची करिडोर सडक निमार्णलाई तदारुपता दिनुपर्ने बताउनुहुन्छ ”

फाल्गुन्नद सुकिलुम्बा बिमानस्थल बाट ३३ फलाईट

गत आर्थिक बर्ष ०८१ ÷८२ मा इलामको फाल्गुन्नद सुकिलुम्बा बिमानस्थल बाट ३३ फलाईट भएको झापाको चन्द्रगडी बिमानस्थल प्रमुख किशोर कुमार खत्रीले जानकारी दिनुभयो । खत्रीले भन्नुभयो,“ बर्ष भरिमा हप्ताको २ पटक जहाजले इलामबाट काठमाडौ र काठमाडौ बाट इलाम उडान भर्ने तालिका अनुरुप ९६ फलाइट हुनेमा गत बर्ष ३३ मात्र फलाइट भए । त्यो पनि नेपाल एयरलाईन्सले मात्र, अहिले फेरी त्यो भइरहेको उडान पनि मौसमका कारण केही महिना देखि बन्द छ ।”

इलामको बिमानस्थल प्रयोग गर्नेको संख्या हेर्ने हो भने पनि कमि नै देखिन्छ । इलाम बिमानस्थलमा ३३ पटक बिमानले अवतरण गरेको र ३३ पटक नै उडान भरेको तथ्याङ्क रहेको छ । जस्मा इलामको बिमानस्थल प्रयोग गरेर गएको आर्थिक बर्ष भरमा ३ सय १० यात्रु इलाम आएका थिए भने तिनसय ३७ यात्रु इलामबाट काठमाडौ गएको बिमानस्थल प्रमुख खत्रीले जानकारी दिनुभयो । प्रमुख खत्रीका अनुसार बिमानस्थलमा अब स्थायी टरमिनल भवन र यात्रुका सहजताका लागि बिमानस्थल सम्म पुग्ने पक्की सडककोको आवश्यक्ता रहेको छ ।

खत्रीले भन्नुभयो,“ इलाको बिमानस्थल पनि हामी झापा बाटै हेछौ इलामका लागि मात्र भनेर छुट्टै जनशक्ति तत्काललाई छैन यहि बाट फलाइट हुने दिन जान्छौ,इलाममा बिमानस्थलको रेखदेक गर्न एक जना चौकिदार मात्र राखेका छौ । बिमानस्थल संचालन गर्न तत्काललाई केही समस्या छैन तर बिमान कम्पनीहरु तयार हुनु पर्यौ, इलाममा बिमान नियमित हुने हो भने यात्रुको पनि खासै समस्या नहुने देखिन्छ, अहिले झापाको चन्द्रगडीमा देनिक १० फलाइट आउने र १० फलाईट जाने भइरहेको छ । ति बिमानमा यात्रा गर्ने यात्रुहरु मध्ये अनुमानित १५÷२० प्रतिशत इलाम पाँचथर र ताप्लेजुङकै यात्रु हुने गरेका छन् ” ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार