फाल्गुनन्द गाउँपालिकामा आधुनिक कृषि युगको सुरुवात, १५ लाख बराबरका उपकरण हस्तान्तरण

  युद्धबहादुर बोहोरा
112 Shares

पाँचथर :  “कृषिमा आधुनिकता, कृषकमा समृद्धि” भन्ने नारालाई आत्मसात् गर्दै फाल्गुनन्द गाउँपालिका, पाँचथरले कृषि यान्त्रिकरण प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्ययोजना अन्तर्गत सञ्चालन गरिएको कार्यक्रममा कृषकहरूको जीवनमा नयाँ ऊर्जा थप्ने उद्देश्यसहित कृषकको लागत साझेदारीमा आधारित १५ लाख रुपैयाँ बराबरका कृषि उपकरणहरू बुधबार वितरण गरिएको हो।

वितरण गरिएका सामग्रीहरूमा मिनि टिलर, स्प्रेयर, प्लास्टिक टनेल, सिँचाइ पाइप लगायत दक्ष र प्रयोगमैत्री यन्त्रहरू समावेश छन्, जसले कृषकको श्रम घटाउने र उत्पादन बढाउने अपेक्षा गरिएको छ। कार्यक्रमबाट व्यवसायिक कृषक समूह, कृषि सहकारी संस्था, निजी फर्महरू तथा अपाङ्गता आयआर्जन कार्यक्रम अन्तर्गत छनोट गरिएका २५ जना कृषकहरू लाभान्वित भएका छन्। उपकरण वितरणले गाउँपालिका भरिका अगुवा कृषकहरूलाई प्रविधिमैत्री कृषि प्रणालीतर्फ प्रेरित गरेको छ।

उपकरण हस्तान्तरण कार्यक्रममा पालिका अध्यक्ष बृजहाङ आङ्देम्वे, उपाध्यक्ष ठाकुरसिं नेम्वाङ, वडाध्यक्षहरु, कार्यपालिका सदस्य,  प्राविधिक टोली र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको कृषि शाखा प्रमुख सुगम घिमिरेले जानकारी दिए । कार्यक्रममा अध्यक्ष आङ्देम्वेले भने, “हाम्रो गाउँपालिका परम्परागत कृषिबाट बाहिर निस्किँदैछ। आधुनिक उपकरणको प्रयोगमार्फत श्रम घटाउने र उत्पादन बढाउने दिशामा हामी दृढ छौं।” त्यस्तै, उपाध्यक्ष नेम्वाङले कृषिमा आधुनिक यन्त्रले क्रान्ति ल्याउने विश्वास व्यक्त गर्दै कार्यक्रमलाई आगामी दिनमा अझ विस्तार गरिने जानकारी दिए बताए ।


कृषि शाखा प्रमुख घिमिरेले प्रविधियुक्त उपकरणको प्रयोगले कृषकको श्रम, समय र लागत बचत हुने र उत्पादनमा उल्लेखनीय वृद्धि हुने लक्ष्य राखिएको जनाए । उनले भने, “सामान्य मेहनतले असाधारण नतिजा दिने समय अब सुरु भएको छ। प्रविधिको सहारा लिएर कृषिमा आत्मनिर्भरता सम्भव छ।” उपकरण पाएका कृषकहरू उत्साहित देखिए। एक लाभग्राहीले भने, “पहिले गोरु जोतेर खेती गर्थ्यौं, पानी बोकेर सिंचाइ गर्नुपर्थ्यो। अब उपकरणको सहायताले समयमै खेती गर्न र राम्रो उत्पादन लिन सजिलो हुनेछ।”

धेरै धान फलाउने किसानलाई हरेक वर्ष सम्मान गर्दै आएको यस गाउँपालिकाले यस्ता कार्यक्रमलाई भविष्यमा अझ व्यवस्थित, प्रभावकारी र उत्पादनमुखी बनाउँदै लैजाने योजना बनाएको छ। आत्मनिर्भरता, रोजगारी सिर्जना र कृषकमैत्री नीतिलाई प्राथमिकतामा राख्दै, समृद्ध र समुन्नत कृषिको बाटोमा अघि बढ्न गाउँपालिका प्रतिबद्ध देखिएको छ। यस कार्यक्रमले फाल्गुनन्द गाउँपालिकामा कृषि यान्त्रिकरणको नयाँ युगको सुरुवात गराएको छ। आधुनिक उपकरणले खेतमा मात्र होइन, कृषकको मनमा पनि नयाँ आशा र आत्मविश्वास रोपेको छ। हरियाली भूमिमा अब प्रविधिको सुवास थपिँदै, फाल्गुनन्द प्रविधियुक्त, उत्पादनमुखी र आत्मनिर्भर कृषि यात्रातर्फ अघि बढेको छ।  कृषि उत्पादनमा यो गाउँपालिका जिल्लामा अगुवाईको रुपमा परिचित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार